एमाले नेताका छोरा भन्छन्– ‘राजनीति फेल हुनेले होइन, प्रथम हुनेले गर्नुपर्छ’


२९ भदौ । नेताका छोराछोरीले सरकारी विद्यालय वा विश्वविद्यालयमा अध्ययन गर्ने कुरालाई अनौठो मानिन्छ । अझ, नेपालकै सरकारी विश्वविद्यालयमा अध्ययन गर्ने कुरालाई त झनै अपवाद मानिन्छ । सरकारी विश्वविद्यालयमा अध्ययन गरेर सक्रिय राजनीति गर्नु र पढाइमा समेत सर्वोत्कृष्ट हुने घटना त विरलै पाइन्छन् । त्यस्ता विरलै पात्रमध्ये एक हुन्, नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वमन्त्री युवराज ज्ञवालीका छोरा, विकास ज्ञवाली । त्रिचन्द्र कलेजबाट स्नातक तह पूरा गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दा उत्कृष्ट भई विद्याभूषण प्राप्त गरेका छन् ।

उनी राजनीतिमा पनि सक्रिय छन् । एमालेको भातृ संगठन युवा संघ नेपालको प्रशिक्षण विभागको सचिव समेत रहेका ज्ञवालीले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट विद्याभूषण प्राप्त गरे ।

राजनीतिक सक्रियतासँगै पढाइमा पनि अब्बल रहेका उनले डाक्टर, इन्जिनियर्स, पाइलट वा विदेशमा अध्ययन गर्नुपर्छ भन्ने प्रवृत्तिलाई गतिलो जवाफ दिएका छन् । उनी स्नातक र स्नातकोत्तरमा मात्र होइन, एसएलसीका पनि उत्कृष्ट विद्यार्थी हुन् । उनले विदेशबाट उच्च शिक्षा गर्छु भनेका भए पनि असम्भव थिएन । अझ सक्रिय राजनीति गर्दिनँ भनेका भए पनि उनलाई कुनै करकाप थिएन । तर, उनले रोजे– स्वदेशमै अध्ययन र सक्रिय राजनीति । अहिले उनी दुवैमा सफल भएका छन् ।

हल्काफुल्का राजनीति गर्ने, उट्पट्याङ् गफ लगाउने र नेताका वरिपरि घुमेर पद प्राप्ति गर्ने फोहोरी संस्कारमा डुब्नेहरुका लागि पनि उनी उदाहरण बनेका छन् । तिनै ज्ञवालीले पहिलो न्युजका कार्यकारी सम्पादक मोहन बास्तोलासँग राजनीतिज्ञको छोरा, सक्रिय राजनीति, अध्ययनमा उत्कृष्टता र आफ्नो अध्ययनबारे यसरी बेलिविस्तार लगाएः

विश्वविद्यालय छिरेसँगै सक्रिय राजनीतिमा

मैले विद्यालय तहको अध्ययन राजधानीबाटै पूरा गरेको हुँ । प्लस टुसम्मको अध्ययन पूरा गरेपछि मनोविज्ञानको अध्ययन गर्ने रुचिले ०६१ सालमा त्रिचन्द्र कलेजमा भर्ना भएँ । त्यतिबेला ज्ञानेन्द्र शाहको निरंकुशतन्त्रको अन्त्य गरेर नेपालमा लोकतन्त्रको स्थापनाका लागि अन्तिम लडाइँ चल्दै थियो । वैचारिक रुपमा दुई धार मानिने अनेरास्ववियु र नेविसंघ सामूहिक रुपमा लोकतन्त्रप्राप्ति र ज्ञानेन्द्रको प्रत्यक्ष शासनको विरुद्धमा लडिरहेका थिए । भूमिगत राजनीतिबाट भर्खर खुला भएको अखिल क्रान्तिकारीले पनि त्यो आन्दोलनमा सहयोग गरेको थियो ।

मलाई त्यतिबेला तात्तिएको राजनीतिक माहोल छोयो । लोकतन्त्रप्राप्तिको अभियानमा लाग्नुपर्छ भनेर म अनेरास्ववियुको सम्पर्कमा पुगेँ । स्नातक अध्ययनकै क्रममा अनेरास्ववियुको सिफ्ट कमिटीमा बसेर काम गर्न थालेँ ।

विस्तारै म अनेरास्ववियु त्रिचन्द्र कलेजको प्रारम्भिक कमिटी सदस्य हुँदै नेकपा (एमाले) दाङ–काठमाडौँ सम्पर्क मञ्चको सदस्य भएँ । अनेरास्ववियुको चितवनमा सम्पन्न सम्मेलनका बेला मैले काठमाडौँ विश्वविद्यालयको तर्फबाट प्रतिनिधित्व गरेको थिएँ । बीचमा केही समय म सामाजिक रुपान्तरणको आन्दोलनमा सक्रिय भएँ र फेरि युवा संघको राजनीतिमा प्रवेश गरेँ । अहिले म युवा संघको प्रशिक्षण विभागको सचिवका रुपमा कार्यरत छु ।

2

राजनीतिमा मेरो रुचि किन ?

पछिल्लो समय राजनीति विकृत भयो भन्नेहरु मात्रै छन् । तर, त्यो विकृत राजनीतिलाई कसरी सुधार गर्ने भन्नेतर्फ कसैले पनि ध्यान दिएको जस्तो लाग्दैन । मैले धेरै समय सोचेपछि राजनीति साँच्चै विकृत नै हो भने त्यसलाई सुधार गर्न त्यसै भित्र सक्रिय बन्नुपर्छ भन्ने लाग्यो र केही वर्षको अन्तरालपछि फेरि युवा संघबाट सक्रिय राजनीति सुरु गरेको हुँ । देश बाहिर गएर र आलोचना मात्र गरेर बिग्रिएको राजनीतिमा सुधार आउन सक्दैन भन्ने निष्कर्षसहित म राजनीतिको अभिन्न अङ्ग बनेको हुँ ।

समाज रुपान्तरण गर्ने र आफ्नो व्यक्तित्व विकास गर्ने माध्यम राजनीति नै हो भनेर मैले यो मेसो समातेको हुँ ।  धेरैले राजनीति बुझेका हुँदैनन् । कतिपय राजनीति बुझेकाहरुको राजनीतिसँग जोडिने माध्यम हुँदैन । मेरो राजनीतिसँग जोडिने माध्यम र राजनीति पनि बुझेको भएकाले राजनीतिलाई मैले अभिन्न अङ्ग बनाउन सहज बनेको हो ।

अध्ययन र राजनीति   

अहिले कतिपयले अध्ययन गर्नेले राजनीति र राजनीति गर्नेले अध्ययनलाई सफल बनाउन सक्दैनन् भन्ने तर्क गर्ने गरेका छन् । त्यो तर्कमा सत्यता छैन । राजनीति र अध्ययनको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ । समाजको विकास गर्ने हो, मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने हो भने त्यहाँ अध्ययन अनिवार्य मानिन्छ । अध्ययन बिनाको राजनीति गफ मात्रै हुन्छ ।

त्रिचन्द्रमा अध्ययन गर्दा नै मैले अध्ययन र राजनीतिलाई सँगै लैजाने अठोट गरेको थिएँ र म सफल पनि भएँ । लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको थियो– ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ । हरेक कुरामा लक्ष्य लिएर अघि बढ्यो भने सफलता प्राप्त गर्न कुनै मुस्किल पर्दैन । मेरो अध्ययनलाई राजनीतिले र राजनीतिलाई अध्ययनले बलियो बनाएको हो । मैले राजनीति नगरेको भए अध्ययनमा सफलता प्राप्त गर्न सक्ने थिइनँ । मैले स्नातक तहमै त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट भएर विद्याभूषण पदक प्राप्त गरेको थिएँ । त्यो सफलता प्राप्त गर्नुमा राजनीतिको पनि ठूलो योगदान छ ।

मैले बुझेको के हो भने राजनीति र अध्ययन दुवैलाई सँगै लैजाने हो भने समय व्यवस्थापन अत्यावश्यक हुन्छ । मैले स्नातकोत्तरमा मानवशास्त्र विषय लिएर अध्ययन गरेँ । स्नातकोत्तरमा पनि मैले सर्वोत्कृष्ट अंक प्राप्त गरेँ । त्यसैले म सबैलाई भन्न चाहन्छु, राजनीतिले अध्ययनलाई बिगार्छ भन्ने कुरा तर्कसम्मत छैनन् ।

विद्याभूषण प्राप्त गर्दा…

हरेक मानिसका आफ्नै स्वभाव हुन्छन् । कोही धनतिर आकर्षित हुन्छन्, कोही विद्यातिर आकर्षित हुन्छन् । कोही शक्तितिर त कोही रसरङतिर आकर्षित भएका हुन्छन् । मनोविज्ञानले पनि त्यही भन्छ । म शैक्षिक र राजनीतिक वातावरणमा हुर्किएँ । अध्ययन गर्दा मैले सर्वोत्कृष्ट विद्यार्थी बन्नुपर्छ भन्ने सधैँ सोचिरहेँ । राजनीतिमा पनि त्यही हो । मैले आफूलाई अध्ययनशील विद्यार्थीकै रुपमा परिचित गराउन चाहेँ । त्यही संघर्षले मलाई विद्याभूषण प्राप्त भयो ।

मैले राजनीति नगरेको भए म अहिले विदेशमा अध्ययन गर्थेँ हुँला वा घर–व्यवहार सम्हालेर बसेको पनि हुन सक्थेँ । मैले ती कुनै पनि बाटाहरु रोजिनँ । मैले अध्ययन र राजनीतिको बाटो समातेकाले नै यो सफलता प्राप्त गरेको हुँ ।

3

नेताका छोरा–छोरीले राजनीति गर्नुहुँदैन ?

ज्ञानको देश हुँदैन, ज्ञानको क्षेत्र हुँदैन । उत्कृष्ट ज्ञान प्राप्त गर्नका लागि मानिस विश्वका जुनसुकै देशमा पनि जान सक्छन् । तर, उत्कृष्ट ज्ञान प्राप्त गर्न विदेश नै जानुपर्छ, नेपालमा सम्भव छैन भन्ने तर्क भने सर्वथा गलत र भ्रामक छ । म त्यस्ता तर्कको विरोधी हुँ । गौतमबुद्ध नेपाल जन्मिएका हुन् । अहिले विश्वका धेरै देशमा सेवा गर्ने नेपाली पनि नेपालकै उत्पादन हुन् । देशको नेतृत्व गरेका नेता, डाक्टर, पाइलट र ईन्जिनियर पनि धेरै नेपालका उत्पादन छन् । त्यसैले अध्ययन कहाँ गरेको ? होइन सेवा नेपालमा छ कि छैन ? त्यो हेर्नुपर्छ । ज्ञान विश्वको लिऊँ, सेवा नेपालमा गरौँ ।

नेताका छोरो–छोरीले विदेशमा अध्ययन नै गर्नुहुँदैन भन्ने तर्क त म गर्दिनँ । तर, पदको दुरुपयोग गरेर नेताले आफ्ना छोराछोरीलाई विदेश अध्ययनको अवसर दिलाउँछन् भने त्यो गलत हो । देशको नेता बन्ने हुँ भनेर हिँडेकाहरुले परिवारको मोहमा फस्नु हुँदैन । मलाई पनि नेताको छोरा भन्छन् । म नेताका छोरा होइन । मेरो बुबा देशको नेता हो । म नेताको छोरा भएँ भने उहाँले मलाई मात्र हेर्न सक्नुहुन्छ । त्यसैले उहाँ देशको नेता हो । उहाँ मेरो बुबा मात्र नबन्नुहोस् । मेरो आग्रह छ । म बुबाको पदको दुरुपयोग गरेर छात्रवृत्तिमा विदेशमा अध्ययन गर्ने पक्षमा छैन ।

राजनीतिबाट नभागौं

नेपालको राजनीति बिग्रिएको छ । बिग्रिएका व्यक्तिले मात्र राजनीति गर्नुपर्छ भन्ने मान्यताले राजनीति बिग्रिएको हो । यो दुश्चक्रबाट राजनीतिलाई मुक्त गर्न हामी जस्ता युवाले राजनीतिबाट भाग्ने होइन, राजनीति गर्नुपर्छ ।

मेरो बुबा

मेरो बुबाले राजनीतिलाई शक्तिको साधन बनाएको जस्तो मलाई लाग्दैन । उहाँले राजनीतिलाई साधना मान्नुभएको छ । कतिपय परिवारका इच्छा–आकांक्षालाई पनि थाँती राखेर हामीले पनि उहाँलाई राजनीति गर्ने वातावरण प्रदान गरेका छौँ ।  उहाँ परिवारप्रति त जिम्मेवार हुनुहुन्छ नै त्योसँगै राजनीति र देशप्रति पनि त्यत्तिकै जिम्मेवार बन्नुपर्छ भन्ने हाम्रो पनि सुझाव छ । उहाँले त्यसै गर्नुभएको छ । उहाँ राजनीतिमा आउनुअघि शिक्षक हुनुहुन्थ्यो । अहिले सबै त्याग गरेर राजनीतिमा लाग्नुभएको छ । उहाँको निष्ठाको राजनीतिले मलाई र परिवारलाई प्रेरणा मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्