एमाले नेता किरण गुरुङलाई बोकेर तनहुँ पुगेका युवाको अचम्मको निधन


२१ भदौ । नेकपा (एमाले) तनहुँ–काठमाडौँ सम्पर्क मञ्चका सहसचिव केपी (कृष्णप्रसाद) भण्डारीको अचम्मले निधन भएको छ । आइतबार तनुहँमा हुने एक कार्यक्रममा भाग लिन एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री किरण गुरुङलाई बोकेर काठमाडौँबाट तनहुँ पुगेका भण्डारीको शनिवार राती निधन भएको थियो ।

शुक्लागण्डकी नगरपालिका–११ जाम्दीका स्थायी बासिन्दा भण्डारी काठमाडौँबाट भिमाद पुगेर क्याम्पस रोसडस्थित मामा घरमा नेता गुरुङसँगै बसेका थिए । कसैले नदेखे पनि घटना प्रकृति र पोस्टमार्टमको रिपोर्ट हेर्दा ३५ वर्षीय भण्डारीको राती बरन्डाबाट खसेर मृत्यु भएको अनुमान गरिएको छ ।

भिमाद गाविसस्थित राङरुङ युवा क्लवले हरितालितका तीजका अवसरमा आइतबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन आफ्नै गाडीमा नेता गुरुङलाई बोकेर उनी काठमाडौंबाट शनिबार त्यहाँ पुगेका थिए ।

स्रोतका अनुसार, मामाघरमा राती राती १२ बजेसम्म खानपिन चलेको थियो । रमाइलो गरी सुत्नका लागि छुट्टिएका भण्डारीको शब विहान घर अगाडिको सडक किनारमा भेटिएको थियो । पोस्टमार्टम गर्दा उनको टाउकोमा गहिरो चोट लाग्नुका साथै खुट्टा भाँचिएको भेटिएको थियो । उनको शव माइक्रो बस र स्कुटरको बीचमा थियो । मर्निङ वाक गर्ने स्थानीयहरुले देखेर खबर गरेका थिए ।

राती आफूहरुसँगै खाना खाएर सुत्न गएका भाञ्जाको शव एक्कासि बिहान सडक किनारमा भेटिएको भण्डारीका मामा एवम् एमाले भिमाद गाउँ कमिटीका अध्यक्ष ध्रुव खनालले बताए ।

शब पोस्टमार्टमका लागि अस्पताल लगेपछि नेता गुरुङ पोखरातिर लागेका थिए । शवको आइतबार दमौली अस्पतालमा पोस्टमार्टम गरी अन्तिम सस्कार गरिएको छ ।

मृतक भण्डारी काठमाडौँमा पार्टी कामका साथै विभिन्न व्यवसायमा समेत संलग्न थिए । उनी सहकारी, स्विमङ पुल सञ्चालन र सेयर कारोवारमा समेत संलग्न रहेको आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्