एमाले वरिष्ठ नेता खनालले भने, ‘औपनिवेशिकताले दक्षिण एसियाको विकासमा बाधा’


२६ मंसिर । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दक्षिण एसियाली मुलुकहरुको तीव्र विकास हुन नसक्नुमा औपनिवेशिकता पनि एउटा कारण भएको बताएका छन् । पाकिस्तानको इस्लामावादमा चलिरहेको शान्तिका लागि विश्व युवा महासम्मेलन २०१६ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियाको अविकासको कारणमध्ये यो क्षेत्रको औपनिवेशिकता पनि रहेको बताए ।

नेता खनालले अहिले उत्तर र दक्षिण तथा पश्चिम र पूर्वका बीचमा बढिरहेको असमानता माझ लाखौँ युवा रोजगारीका लागि विदेश जाने गरेको पनि बताए । नेता खनालले चीन, दक्षिण पूर्वी एसियालगायत दक्षिण एसियामा समेत देखा परेको आर्थिक वृद्धिप्रति सन्तोष व्यक्त गर्दै थप सहकार्यबाट एसियामा विकास र समृद्धि हासिल गर्न सकिने र यसले युवामा रहेको बेरोजगारी समस्या हल हुने उल्लेख गरेका थिए ।

नेता खनालले बताए, ‘यो शताब्दी युवाको भएकाले राजनीतिमा उनीहरु नै समाज रुपान्तरण, आर्थिक विकास र प्रजातान्त्रीकरणका मूलवाहक हुन् । आज युवामा शिक्षा, सीप विकास र तालिमबाट उनीहरुको मानसिकतामा परिवर्तन गरी अघि बढाउनु अत्यावश्यक छ ।’

खनालले पाकिस्तानका पूर्वप्रधानमन्त्री राजा गिलानीसहित विभिन्न देशका पूर्व विशिष्ट व्यक्तिसँग पनि पनि भेटघाट गरेको बताइएको छ । नेता खनाल र्मसिर २९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेता खनालसँगै एमाले नेता सुरेन्द्र पाण्डे पनि सो सम्मेलनमा भाग लिन इस्लामावाद गएका छन् ।

प्रतिक्रिया दिनुहोस्