एमाले पाल्पाको अध्यक्षमा तीन आकांक्षी


पाल्पा । कात्तिक ४ र ५ गते हुने नेकपा (एमाले) पाल्पाको आठौँ अधिवेशनका लागि नेतृत्वका आकांक्षीहरु सक्रिय देखिएका छन् । आज त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको खुल्ला मैदानमा आयोजना उद्घाटन समारोहलाई एमाले उपाध्यक्ष वामदेव गौतमले उद्घाटन गर्ने कार्यक्रम ।

जिल्ला अधिवेशनका लागि क्षेत्र नं १ बाट १ सय १९, क्षेत्र नं २ बाट ९२ र क्षेत्र नं ३ बाट १ सय ४४ जना प्रतिनिधि चयन भएका छन् । मनोनित बाहेक कुल ३ सय ५५ जना कार्यकर्ता सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । एमाले पाल्पामा ५ हजार ३ सय १८ जनाले संगठित सदस्य छन् ।

पार्टीको नयाँ नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । कार्यवाहक अध्यक्ष देवीप्रसाद बस्याल, पूर्वअध्यक्ष यादवबहादुर रायमाझी र पूर्वउपाध्यक्ष नारायणप्रसाद आचार्यले अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका छन् ।

कार्यबाहक अध्यक्ष बस्यालले सर्वसम्मत् नेतृत्व चयन हुनुपर्ने भन्दै त्यसका लागि आफू सक्षम रहेको दावी गरेका छन् । आगामी तीन तहका निर्वाचन र संगठन सुदृढीकरणका लागि सर्वसम्मत्तिको नेतृत्वको खाँचो रहेको उनको तर्क छ । बस्याल भन्छन्, ‘दुबै विचार समूहलाई कुशलतापूर्वक संयोजन गर्न सक्ने क्षमता नै मेरो योग्यता हो ।’

अर्का आकांक्षी रायमाझी अघिल्लो निर्वाचनमा पराजित भए पनि निरन्तर पार्टी र कार्यकर्ताको बीचमा रहेकाले यसपालि आफू अध्यक्ष हुनुपर्ने तर्क गर्छन् । रायमाझी भन्छन्, ‘म सहमतिको पक्षधर नै हुँ तर मैले पाए मात्र सहमति हुन्छ भन्ने मान्यता कसैले राख्न हुँदैन ।’
अध्यक्षका अर्का आकांक्षी आचार्यले पार्टीको कुनै जिम्मेवारीमा नरहेका बखत पनि आफू पदमा रहेकाभन्दा बढी नै सक्रिय रहेको र विगतमा उपाध्यक्ष बनेर काम गरेको अनुभव रहेकाले यसपालि आफ्नो दावी जायज रहेको बताए । आचार्य भन्छन्, ‘कम्युनिष्ट पार्टीमा विचार, संगठन र कार्यकर्ता प्रमुख हुन्, तिनलाई चिन्ने नेतृत्व हुनुपर्छ ।’

सर्वसम्मतिका लागि प्रयास भए पनि अन्तिममा रायमाझी र आचार्यबीच चुनाव हुने सम्भावना छ । रायमाझीलाई केन्द्रीय सदस्य तथा सांसद सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्य ठाकुर गैरेलगायतको समर्थन छ भने आचार्यलाई पोलिट्ब्युरो सदस्य दलबहादुर सुनार, सांसद राधाकृष्ण कँडेललगायतले सघाइरहेका छन् ।

रायमाझीको टीमबाट उपाध्यक्षमा मोहन थापा वा मोहन गैरेमध्ये एक, सचिवमा देवीलाल लामिछाने र उपसचिवमा योगेन्द्र गैरेले चुनाव लड्ने तयारी गरेका छन् भने आचार्यको टीमबाट उपाध्यक्षमा ओमबहादुर घर्ती, सचिवमा विमल काफ्ले र उपसचिवमा रामजी पोखरेल वा इन्द्रा रावतमध्ये एकले चुनाव लड्ने तयारी गरेका छन् ।

एमाले जिल्लामा सबैभन्दा ठूलो पार्टी भएकाले आगामी नेतृत्वका विषयमा पार्टीभित्र र बाहिर पनि व्यापक बहस चलेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्