एमाले प्रवेश गरेका राजकुमारले प्रचण्डको विरोधमा खर्चे पाँच सय ७६ शब्द


१० माघ । लामो समयदेखि म रोल्पा जिल्लामा नेपालका कम्युनिस्ट आन्दोलनका विभिन्न घटकहरूमा रही सामाजिक परिवर्तनको प्रक्रियामा संलग्न रहँदै आएँ । यसै सिलसिलामा पछिल्लो कालमा नेकपा (माओवादी–केन्द्र) को केन्द्रीय समिति (महाधिवेशन आयोजक समिति) सदस्यका रुपमा क्रियाशील थिएँ ।

पहिले नेकपा (मसाल) निकट राष्ट्रिय जनमोर्चा, एकताकेन्द्र–मसाल हुँदै एनेकपा (माओवादी) निर्माणमा एकता प्रक्रियाको माध्यमबाट सहभागी भएको थिएँ । जीवनका छ दशक तथा रोल्पा जिल्ला सदरमुकाम लिवाङमा बसेर विगत ३० वर्षदेखि मैले सामाजिक, राजनीतिक जीवन व्यतित गर्दै आएको छु । यस सिलसिलामा आफू संलग्न पार्टीले दिएको हरेक जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको समेत जानकारी गराउन चाहन्छु ।

यतिबेला म अत्यन्त गम्भीर र महत्वपूर्ण निर्णय प्रक्रियाबाट गुजिँदै आगामी राजनीतिक जीवनयात्राको सम्बन्धमा सोचविचार गरी नयाँ निर्णय लिन अग्रसर छु । पार्टीले सरकारको नेतृत्व गरिरहेको, विभिन्न महत्वपूर्ण मन्त्रालय आदिको जिम्मेवारी सम्हालेको स्थितिका बाबजूद म यो नयाँ निर्णय लिन पुगेको छु ।

खासगरी नेपाली समाजको आमूल परिवर्तन, सामाजिक–आर्थिक र साँस्कृतिक रुपान्तरण, तीब्र आर्थिक विकास र समृद्धि तथा राष्ट्रको हित, स्वाभिमान र राष्ट्रियताको जगेर्नाका लागि नेकपा (एमाले) मा समाहित भई आफूसक्दो योगदान गर्न जरुरी महसुस गरेको छु । मेरो यो निर्णय म र मेरो निजी परिवारको भन्दा नेपाली समाज, कम्युनिस्ट आन्दोलन र राष्ट्रको समुन्नत भविष्यसँग जोडिएको छ ।

मैले विभिन्न कम्युनिस्ट नेताहरूले नेतृत्व गरेका सरकारको काम सकेसम्म नजिकबाट हेर्न पाएँ । मनमोहन अधिकारी र अरु नेताहरू तथा पछिल्लो पटक केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार समेत प्रत्यक्ष देखें, देखिरहेको छु । तर, भारतले त्यति कठोर नाकाबन्दी लगाउँदासमेत नझुकी नेपाल, नेपाली जनता र नेपालको स्वाभिमानको पक्षमा सतिसालझैं उभिएर केपी शर्मा ओली नेतृत्वको सरकारले म जस्ता पुराना वामपन्थी कार्यकर्ताहरूको मन जित्न सक्यो, यो यथार्थ म यहाहरूलाई राख्न चाहन्छु ।

रोल्पा प्रदेश नं. ५ मा रहेको जिल्ला हो । पछिल्लो अवधिमा सरकारले प्रदेश नं. ५ का पाँच जिल्लाहरू रोल्पा (पूर्व रुकुमसमेत), प्यूठान, गुल्मी, अर्घाखाँची र पाल्पालाई साविक प्रदेशबाट हटाई प्रदेश नं. ४ मा समावेश गर्नेलगायतको संविधान संशोधन प्रस्ताव ल्याएर शान्त तलाउमा ढुंगा हान्ने काम गरेको छ । यो हामी सम्बन्धित प्रदेशबाट जिल्लावासीहरूको भावना विपरीत, गलत र दुराशययुक्त कदम हो । म स्पष्ट पार्न चाहन्छु र यसप्रकारको गलत प्रस्ताव फिर्ता लिएर अनावश्यक विवादमा नफस्न सरकारसमक्ष जोडदार माग गर्न चाहन्छु ।

कम्युनिस्ट पार्टी सही सिद्धान्त, नीति–विचार, संगठन र व्यवहारको माध्यमबाट मात्रै जनतामा लोकप्रिय हुनसक्दछ । नेकपा (माओवादी–केन्द्र) ३,९९९ जनाको सम्भवतः विश्वकै जम्बो केन्द्रीय समिति भएको पार्टी हुनपुगेको छ । ‘गिनिजबुक’ मा दर्ता गरेर विश्व रेकर्ड कायम गर्नसमेत यो संख्या पर्याप्त छ होला ।

तर, माक्र्सवाद, लेनिनवाद, माओवाद–विचारधाराको आलोकमा यसप्रकारको संगठनात्मक अराजकता स्वीकार्य हुनसक्दैन । कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्त र मान्यतालाई लत्याएर यस ढंगको अभ्यास गरिरहेको देख्दा र भोग्दा म वाक्क र दिक्क मात्र होइन, माओवादका नाममा व्यक्तिवाद, संकिर्णतावाद, गुटवाद, भद्रगोलवाद, राजनीतिमा दृष्टिविहीनको व्यवहारबाट मुक्त नभएको र मैले जीवनभरि हासिल गरेको माक्र्सवादी–लेनिनवादी ज्ञान र अभ्यासको अनुभवसँग यो स्थितिको कहीँ कतै तादाम्यता पाउन सकिनँ ।

तसर्थ, गलत कुरालाई सही मानेर त्यही कुराको पैरवी र व्याख्या गर्दै म त्यहा बसिरहन सकिनँ । यो मैले आजसम्म प्राप्त गरेको कम्युनिस्ट विश्व दृष्टिकोण र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीतको मनोगत, अराजकता र भद्रगोल मात्रै हो । यस स्थितिलाई हेर्दा माओवादी केन्द्र विघटनको स्थितिबाट गुज्रिरहेको छ भन्दा अतिरञ्जित हुनेछैन ।

अन्त्यमा, नेकपा (एमाले) मा आबद्ध भएको यो क्षणमा मैले अत्यन्त सही छनोटको गौरव गरिरहेको छु । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आफ्नो बाँकी जीवन म समाजको परिवर्तन, देशको स्वाभिमान र समृद्धिको पक्षमा समर्पित गर्ने घोषणा गर्न चाहन्छु । यस पार्टीले सच्चा रुपमा कम्युनिस्ट आन्दोलनमा क्रियाशील नेता, कार्यकर्ताहरूको विशाल पंक्तिलाई फराकिलो छाती बनाएर आफूमा आबद्ध गर्दै अघि बढ्नेछ भन्ने विश्वाससमेत व्यक्त गर्दछु ।                                                                                                      नेकपा (माओवादी–केन्द्र)का केन्द्रीय सदस्य कक्षपतीले एमाले प्रवेश गर्ने क्रममा दिएको मन्तव्य

प्रतिक्रिया दिनुहोस्