एमाले फकाउने प्रचण्डको प्रयास फेरि असफल, तीन दलको बैठकमा के–के भयो कुराकानी ?


१३ पुस । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र  नेकपा माओवादी केन्द्रको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बुधवार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले संविधा संशोधन प्रस्ताव फिर्ता लिन र निर्वाचन मिति घोषणा गर्न आग्रह गरेको थियो ।

एमालेको आग्रहपछि प्रधानमन्त्री प्रचण्डले आफू स्थानीय तहको निर्वाचन गर्न तयार रहेको भन्दै संशोधन प्रस्तावबाट पछि हट्न नसक्ने बताएका थिए । ‘हामीले प्रधानमन्त्रीलाई संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गर्यौँ,’ एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पहिलो न्युजसँग भने, ‘तर, उहाँले आफ्नो अडान कायमै राख्नुभयो । उहाँ स्थानीय तहको निर्वाचन गर्ने कुरामा भने सकारात्मक देखिनु भएको छ, हेरौँ ।’ नेम्वाङले बैठकमा त्यस्तो केही महत्वपूर्ण निर्णय भने नभएको जानकारी दिए  ।

प्रधानमन्त्रीले संसदको अवरोध हटाएर संविधान संशोधनको विषय प्रक्रियाबाटै टुंगो लगाउन प्रमुख प्रतिपक्षलाई आग्रह गरेका थिए ।  उनले संविधान संशोधन, निर्वाचन, निर्वाचन सम्वन्धी विद्येयक, लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव एवम् स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन लगायतका विषयमा प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्न आग्रह गरेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, पम्फा भुसाल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्