एमाले बाग्लुङमा इन्द्रलाल सापकोटा निर्वाचित


पुस १३ । नेकपा (एमाले) बाग्लुङको अध्यक्षमा युवा नेता इन्द्रलाल सापकोटा निर्वाचित भएका छन् । आज विहान सार्वजनिक भएको परिणाम अनुसार, उनले ३ सय ८८ मत पाए भने उनका प्रतिस्पर्धी सांसद नरबहादुर थापाले १ सय ५३ मत पाए । युवा संघका पूर्वमहासचिव सापकोटा युवाहरुबीच लोकप्रिय मानिन्छन् ।

अरु पदाधिकारी तथा सदस्यमा पनि अधिकांश उनकै प्यानलकाले जितेका छन् । उपाध्यक्षमा कृष्ण पाठकले ३ सय १८ मत ल्याएर जिते भने प्रतिस्पर्धी टंक पौडेलले २ सय ३२ मत ल्याए । त्यसैगरी, सचिवमा लालबहादुर थापाले ३ सय ८६ मत ल्याएर जिते भने ध्रुब केसीले १ सय ४५ मत ल्याए । उपसचिवमा विष्णु भुसालको ३ सय १० र रामबहादुर जीसीको १ सय ७३ मत आएको थियो ।

आठौं जिल्ला अधिवेशनको उद्घाटन पुस ९ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । एमालेमा केन्द्रबाट प्यानलका आधारमा निर्वाचन नहुने सर्कुलर जारी गरे पनि जिल्ला भने त्यही आधारमा निर्वाचन भइरहेको छ । सापकोटा बरिष्ठ नेता माधव नेपाल र थापा अध्यक्ष ओली पक्षधरका रुपमा खडा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्