एमाले बाराको अध्यक्षमा विश्वकर्मा निर्वाचित


८ कात्तिक । नेकपा (एमाले) बाराको जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष निर्वाचित भएका छन् । आज विहान सार्वजनिक नतिजा अनुसार प्रतिस्पर्धा रविन्द्रदाुस श्रेष्ठले ६५ मतान्तरले पछि पार्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

एक महिनाअघि कोल्वीमा उद्घाटन भए पनि स्थगित भएको नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो । विश्वकर्माले २३३ र श्रेष्ठले १५८ मत प्राप्त गरेका थिए । देशभरिमै एमालेको जिल्ला अध्यक्ष निर्वाचित हुने विश्वकर्मा एक मात्र दलित नेता हुन् ।

केन्द्रमा प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने भने पनि जिल्ला स्तरमा टीम बनाएर चुनाव लड्ने क्रम रोकिएको छैन । विश्वकर्मा बरिष्ठ नेता माधव नेपाल र श्रेष्ठ अध्यक्ष केपी ओली पक्षधरका रुपमा खडा भएका थिए ।

अरु पदमा पनि विश्वकर्माकै टीमका नेताहरुले जितेका छन् ।
उपाध्यक्षमा देवनारायण चौधरीले २१९ र अद्यानन्द पाण्डेले १५८ र सचिवमा महम्मद समीउल्लाहले १९६ तथा बतहु यादवले १७२ मत प्राप्त गरेका थिए ।

७१ सदस्यीय नवनिर्वाचित जिल्ला कमिटीलाई दुई नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलले बधाई तथा प्रमाणपत्र ज्ञापन गरेका थिए । दुई नम्बर प्रदेशमा सम्पन्न भएको एमालेको यो पहिलो जिल्ला अधिवेशन हो । बारामा यसअघि ओली पक्षधरको पकड रहँदै आएको थियो ।

चितवनमा जारी अधिवेशनबाट नेतृत्व चयन गर्न मतदान सकिएको छ । अध्यक्षमा वर्तमान अध्यक्ष जगन्नाथ थपलिया र उपाध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले प्रतिस्पर्धा गरेका छन् ।

रुपन्देहीमा अस्ति अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन प्रक्रिया सुरु भएको छैन । सहमति नभएमा आज साँझसम्म निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्