एमाले मधेसमा लोकप्रिय छ, चुनावमा पहिलो शक्ति बन्छौंः एमाले सचिव भट्टराई


३१ भदौ । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले २ नम्बर प्रदेशको स्थानीय तहको आशन्न निर्वाचनमा एमालेलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन् । एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको दसैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘२ नम्बर प्रदेशमा मनोनयन हुनुभन्दा दस दिनअगाडिसम्म एमालेलाई मनोनयन गर्न दिन्नौं भन्नेहरु धेरै निस्किए । तर, मनोनयनको दिन एमालेका उम्मेद्वारहरुले दसौं हजारका जुलुससहित मनोनयन गरे । यसले एमाले मधेसमा पनि लोकप्रिय रहेको देखाएको छ ।’

सचिव भट्टराईले स्थानीय तहको चुनावमा मात्र एमाले पहिलो शक्ति भएर नपुग्ने बताए । उनले भने, ‘अब मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । ती निर्वाचनबाट एमालेले सिंहदरबारमा कब्जा जमाउनुपर्छ र सातै प्रदेशको मुख्यमन्त्री पनि एमालेकै बन्नुपर्छ । त्यसो भयो भने मात्र एमालेले मुलुकलाई अघि बढाउन सक्छ ।’

स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा सन्तुलन नमिलेको बताउँदै अब प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा भने मिलाएर जाने बताउँदै भट्टराईले भने, ‘संघ र प्रदेशको निर्वाचनमा एमालेलाई एकताबद्ध बनाएर हामी अगाडि बढ्छौं ।’

सो कार्यक्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष गोमा देवकोटा, सिन्धुली क्षेत्र नं. १ का सांसद् गणेश पहाडी, केन्द्रीय सल्लाहकार केशव देवकोटालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सिन्धुली जिल्ला समन्वय समितिका अध्यक्ष शंकर बर्मालाई सम्मान गरिएको थियो भने ‘सिन्धुली आवाज’ को नयाँ अंक पनि विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्