एमाले महासचिवले ओढाए खेम गुरुङलाई पार्टीको झण्डा


१२ भदौ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका सर्जक खेम गुरुङ कालजयी गीत लाखौँ नेपालीलाई छाडेर कहिल्यै नआउने गरि अस्ताएका छन् ।

अनेरास्ववियु जिल्ला कमिटी सदस्य, जनसांस्कृति मञ्चको जिल्ला अध्यक्ष र संँखुवासभा खाँदवारी नगर कमिटी सदस्यलगायतको जिम्मेवारी निर्वाह गरेका गुरुङको आइतबार अन्तिम संस्कार हुँदैगर्दा एमालेजनका मात्र आँख रसाएनन् । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन प्रज्ञा भवन पुगेका कलाकार, राजनीतिज्ञ र सर्वसाधारणले पनि मन थाम्न सकेनन् ।

राजनीतिक आस्था एउटा पार्टीसँग भए पनि उनी बाँचुञ्जेल सबै नेपालीका साझा भए । राजनीतिक पूर्वाग्रहका कारण झुटा मुद्दा झेलेर करिब तीन वर्ष जेल जीवन समेत व्यथित गरेका गुरुङलाई आइतबार एमाले महासचिव ईश्वर पोख्रेलले पार्टीको झण्डा ओढाएका थिए । उपचारका क्रममा मृत्य भए लगत्तै एमालेले विज्ञप्ति नै निकालेर गुरुङको मृत्युप्रति शोक व्यक्त गरेको थियो ।

‘आम मानिसहरुलाई छुने भाका र शब्दमा गीत गाएर अत्यन्त लोकप्रिय हुनुभएका कलाकार गुरुङ मुलुकको एकजना आशालाग्दो प्रतिभा मात्र हुनुहुन्नथ्यो, सामाजिक जागरण र राजनीतिक परिवर्तनको आन्दोलनका अभिन्न सहयात्री पनि हुनुहुन्थ्यो,’ विज्ञप्तिमा भनिएको थियो ।

कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको शुक्रबार चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको थियो । उनलाई थप उपचारका लागि परिवारले भारतको नयाँदिल्ली स्थित मेदान्त अस्ताल लैजाने तयारी गरेपनि चिकित्सकले स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थिए । उनलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्