एमाले महासचिव पोखरेलले भने, ‘अन्तिमको पासोमा ओली पर्नुभयो’


काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सुगौली सन्धियता गुम्दै गएको राष्ट्रिय स्वाभिमानलाई उचाइँमा पु¥याउने गरी ‘ब्रेक’ गर्न खोज्दा ढलेको दावी गरेका छन् । सोमबार युवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘परनिर्भरतालाई अन्त्य गरेर मुलुकलाई आत्मनिर्भरतातर्फ अघि बढाउन खोज्दा सरकार बनेदेखि नै शृंखलाबद्ध पासो थापियो । ती सबै पासो असफल भए पनि अन्तिमको पासो चुँडाल्न नसक्दा नयाँ गठबन्धन बन्यो ।’

आफ्नै पार्टीको कार्यशैलीसँग असन्तुष्ट

महासचिव पोखरेलले आफ्नै पार्टीभित्र रहेको तदर्थवादी कार्यशैलीप्रति आत्मालोचना गरेका छन् । पार्टी स्कुल विभागद्वारा दुई सातादेखि सञ्चालित नियमित प्रशिक्षण कार्यक्रमको दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘म आत्मालोचित हुन चाहन्छु, अहिलेसम्म जे–जे आइपर्छ, त्यही गर्दै जाने पार्टी कामको शैली बन्दै आएको छ । अब त्यस्तो (तदर्थवादी) शैली तोडेर सिंगो एमालेपंक्ति ‘मिसन’ केन्द्रित भएर अघि बढ्न जरुरी छ ।’

बैचारिक पक्ष कमजोर हुँदा गुटबन्दी

महासचिव पोखरेलले पार्टी पंक्तिमा वैचारिक पक्ष कमजोर बन्दा केन्द्रदेखि तलसम्मको शृंखलाबद्ध कमिटी प्रणाली कमजोर बन्दै गएको भन्दै ‘गुटबन्दी’ त्यसैको परिणाम भएको प्रष्ट गरे । ‘विभिन्न पक्ष र नाममा शृंखलाबद्ध कमिटी प्रणाली कमजोर बनाउने प्रयास भइरहेको छ, त्यसैले तपाईंहरु माथिदेखि तलसम्मको शृंखलाबद्ध कमिटी प्रणाली रक्षार्थ उभिनूस्’– युवा संघका पदाधिकारी र सचिवालय सदस्यहरुलाई निर्देशन दिँदै उनले भने ।

IMG_5102अब नियमित स्कुल र परीक्षा

एमालेले पार्टीमा नियमित स्कूल (प्रशिक्षण) चलाउने भएको छ । लामो समयदेखि स्कुल चलाउने तयारीले मूर्त रुप लिँदै गएको भन्दै महासचिव पोखरेलले केन्द्र र प्रदेशस्तरमा पार्टीले नियमित कक्षा संचालन गर्ने जानकारी दिए । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा एमालेले नियमिति ‘स्कुल’ सुरु गरेको हो । दुईसातादेखि जारी ‘स्कुल’मा अनेरास्ववियु र युवा संघका पदाधिकारी र सचिवालय तहका करिब एक सय जना कार्यकर्ता दीक्षित भएका छन् ।
कार्यक्रममा स्कुल विभागका उपप्रमुख शंकर पोखरेल र सचिव ईश्वरी रिजालले विभागले अन्य जनवर्गीय संगठनका कार्यकर्तालाई पनि स्कुल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

राजीव पहारी प्रथम

साताव्यापी प्रशिक्षणको समापनमा स्कुल विभागले प्रशिक्षार्थीहरुको परिक्षा लिएर योग्यता मूल्यांकन गर्ने कामसमेत सुरु गरेको छ । दोस्रो शृंखलाको परीक्षामा युवा संघका अध्यक्ष राजीव पहारी ९६ अंक ल्याएर प्रथम भएका छन् भने कोषाध्यक्ष हृदम लामा द्वितीय र महासचिव किरण पौडेल तृतीय भएका छन् ।

नियमित कक्षापछि परीक्षार्थीले उत्तीर्णका लागि २५ वटा विषयपरक र बस्तुपरक प्रश्नमा ४० अंक अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्