एमाले रुपन्देहीमा अधिवेशनको सरगर्मी


२ कात्तिक । राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा विशेष महत्व राख्ने रुपन्देहीमा नेकपा (एमाले) को आसन्न जिल्ला अधिवेशनले कार्यकर्ताबीच सरगर्मी बढाएको छ । कात्तिक ६, ७ र ८ गते भैरहवामा आयोजना हुने अधिवेशनका लागि सोमबार प्रतिनिधि चयन भइपछि नेतृत्व गर्न इच्छुक नेताहरु चुनावी अभियानमा लागेका छन् ।

केन्द्रको गुटगत प्रभाव जिल्ला अधिवेशनमा पर्न नदिन केही युवाहरु लागे पनि प्रतिनिधि चयनदेखि नै यसको संकेत देखा परिसकेको छ । पाँच प्रतिशत मनोनयन र दुई स्थानमा प्रतिनिधि चयन बाँकी भए पनि नेतृत्वका आकांक्षीहरु खुलेर प्रचारमा सक्रिय छन् । उनीहरुले आ–आफ्नो पक्षमा बढी प्रतिनिधि छनोट भएको तर्क गर्दै विजयी बन्ने दाबी गरिरहेका छन् ।

सुरुमा अध्यक्ष पदका दाबेदार धेरै देखिए पनि अन्तिममा दुई समूहबाट शिव सुवेदी र पुरुषोत्तम घिमिरेले अध्यक्षमा भिड्ने तयारी गरेका छन् । प्रतिनिधि छनोटलाई हेर्दा उनीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सुवेदी हाल जिल्ला कमिटी उपाध्यक्ष छन् भने सचिवालय सदस्य घिमिरेले मोर्चा फाँट सम्हालिरहेका छन् । पदीय वरिष्ठातामा पुराना कार्यकर्ता सुवेदी अघि छन् भने युवा पुस्तामा घिमिरेलाई भिजेको ठानिन्छ । सुवेदीलाई एमाले अध्यक्ष ओली र घिमिरेलाई बरिष्ठ नेता माधव नेपाल समूह भनेर चित्रित गरिए पनि खासमा उनीहरु उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसालबीचको प्रतिस्पर्धासँग जोडेर जिल्ला अधिवेशनलाई हेरिएको छ । अघिल्लो अधिवेशनबाट भोजप्रसाद श्रेष्ठ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए । यसपटक पनि अन्तिम बेलामा सर्वसम्मत्ति हुन सक्ने सम्भावना छ ।

सुरुमा अध्यक्ष पदका लागि भूमिश्वर ढकालले पनि दावी गरेका थिए । उनले काठमाडौँमा विभिन्न नेताहरुलाई भेटेर आफू उम्मेदवार हुन लागेको जानकारी गराए पनि अन्तिममा एउटै समूहबाट दुईजना भएकाले उनको साटो सुवेदीलाई अघि सारिएको थियो ।

अध्यक्षका दावेदार सुवेदीले आफू कमिटीको उपाध्यक्ष भएका कारण स्वभाविक दाबी भएको तर्क गर्दै कार्यकर्ताले त्यसको मूल्यांकन गर्ने बताए भने अर्का दावेदार घिमिरेले आफ्नो सक्रियता र कार्यकर्ताको चाहनाका कारण विजय सुनिश्चित हुने दावी गरे ।

दुई प्यानलका साथ अघि बढे पनि सर्बसम्मतको अवस्था आएमा वर्तमान अध्यक्ष भोजप्रसाद श्रेष्ठ कार्यकाल दोहो-याउन पाए हुन्थ्यो भन्ने मुडमा छन् । कार्यकर्ताको चाहना गुटगत निर्वाचन नभएकाले सर्वसम्मतको तेश्रो धार निर्माण हुने उनको दाबी छ ।

उपाध्यक्षमा राजु गुरुङ र तुलसी चौधरी दाबेदार देखिएका छन् भने सचिवमा चाहिँ सबैभन्दा धेरैले दावी गरिरहेका छन् । सचिवका लागि तेजेन्द्र केसी, सुरेन्द्र वर्मा, वासु घिमिरे, यज्ञ गैरे, राजेन्द्र पन्थी, हितराज पन्थी र सिद्धिचरण भट्टराईले दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्