एमाले र माओवादी केन्द्रको आकास्मिक बैठक छुट्टाछुटै, बिहिवार पार्टी एकता घोषणा


kpmaकाठमाडौ, २ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच मदन भण्डारीको २५ औं स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टी एकता घोषणा हुने भएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एकता घोषणा गर्नको लागि बुधवार अपरान्हदेखि एमाले र माओवादी केन्द्रको बैठक छुट्टाछुटै बसिरहेको छ । एमले स्थायी समिति बालुवाटार र माओवादी केन्द्रीय कार्यलयको बैठक ललितपुरस्थित खुमलटारमा बसिरहेको छ । बिहान प्रचण्ड र केपी ओली बीच भएको छलफलमा एकता गर्ने समझदारी भएसँगै एकतालाई अनुमोदन गर्ने विषयमा छलफल गर्न दुबै पार्टीको बैठक बसेको हो । दुबै पार्टीको वैठकमा भोलि जेठ ३ गते एमाले र माओवादी पार्टी एकताको मिति घोषणा गर्ने विषयमा छलफल भइरहेको स्रोतको भनाई छ । पार्टी एकतामा ढिलाई हुँदा गलत सन्देश गएको निष्कर्ष निकाल्दै दुवै नेताले पार्टी एकताको मिति समेत तय गर्नेगरी आवश्यक निर्णय लिन भोली एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको पनि स्रोतको दावी छ ।
एमाले नेता विष्णु पौडेलले पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोलि विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् । उनले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने पनि स्पष्ट पारे । विहान ७ बजे बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने कार्यक्रम तय भएको नेकपा एमाले प्रचार विभागका सचिव बिष्णु रिजालले जानकारी दिए । उनका अनुसार पार्टी एकता घोषणा मिति तय गर्न विहिवार ११ वजे एमालेले केन्द्रिय कमिटीको वैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्