एमाले र माओवादी केन्द्रबीच ६० र ४० को सहमति


१७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी शक्तिहरुबीच तालमेल आजको आवश्यकता भएको बताएका छन् । आज एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्नका लागि आयोजित घोषणा सभामा बोल्दै अध्यक्ष ओलीले भने, ‘वामपन्थीहरुबीच तालमेल हुँदा देशले फड्को मार्नेछ ।’

सो अवसरमा अध्यक्ष ओलीले वामपन्थी शक्तिबीचको एकता कसैका विरुद्ध नभएको पनि बताए । चुनावी तालमेलको घोषणासभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थी शक्तिबीच तालमेल र एकता हुनु अनिवार्य भइसकेको हुँदा तालमेल भएको बताए ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वामपन्थीहरुबीच एकता हुनु अति आवश्यक भइसकेको जनाउँदै त्यसका निम्ति प्रयत्नशील हुनुपर्ने बताए । सो अवसरमा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको छ बुँदे सहमति सुनाइएको थियो । सहमतिअनुसार आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत भागबन्डा गरी निर्वाचनमा तालमेल गर्ने सहमति भएको जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्