एमाले सरकार छाड्दैनः भट्टराई


२४ जेठ । नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले राष्ट्रिय सहमतिको सरकार बन्ने ग्यारेन्टी नभएसम्म एमालेले सरकारको नेतृत्व नछाड्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले सोमबार राजधानीमा आयोजना गरेको ‘लाक्पागेलु शेर्पालाई सम्मान’ कार्यक्रममा बोल्दै यस्तो दाबी गरेको हुन् ।

उनले एमाओवादीलाई सरकारको नेतृत्वको हतार नगर्न पनि आग्रह गरे । ‘अहिले एमाओवादी सरकारमा छ,’ उनले भने, ‘एमाओवादीलाई सरकारको नेतृत्व गर्ने हतार हो भने कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति लिएर आओस् एमाले सरकारको नेतृत्व छाड्न तयार छ ।’ भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति नभएसम्म एमाले नेतृत्वको सरकार दायाँबायाँ नहुने ठोकुवा गरे ।

लाक्पागेलु शेर्पाले १२ औँ पटक सगरमाथा चढ्दा प्रेस चौतारी नेपालको झण्डा सगरमाथामा फहराएका थिए । चौतारी सोलुखुम्बु सदस्यसमेत रहेका शेर्पालाई चौतारीले सम्मानपत्र सहित खादा ओडाएर सम्मान गरेको थियो ।

प्रेस चौतारी नेपालको नयाँ नेतृत्वले गरेको पहिलो औपचारिक कार्यक्रममा प्रचार विभाग उप–प्रमुख सूर्य थापा, चौतारी अध्यक्ष गणेश बस्नेतलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्