एमाले सांसदहरुले तुल्याए संसद् अवरुद्ध, वामदेवले भने, ‘गैरसंवैधानिक संशोधन विधेयकविरुद्ध कडा प्रतिवाद गर्छौं’


१६ मंसिर । ५ नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावविरुद्ध बिहीबार बसेको व्यवस्थापिका–संसद्को बैठक नेकपा (एमाले) का सांसदहरुले अवरुद्ध तुल्याएका छन् । संशोधन प्रस्ताव आएदेखि नै एमालेले संसद् बैठक अवरुद्ध तुल्याउने बताउँदै आएको थियो ।

बिहीबार दिउँसो व्यवस्थापिका–संसद्को बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरुले संशोधन प्रस्ताव विरुद्ध विरोध जनाएका थिए । सभामुख ओनसरी घर्तीले ‘आजको छलफलमा संविधान संशोधनको विषय नभएको’ जनाउँदै बैठक सुचारु गर्न अनुरोध गरे पनि एमाले सांसदहरुले अवरोध गर्न नछाडेको बताइन्छ ।

त्यसपछि सभामुख घर्तीले एमाले उपाध्यक्ष तथा सांसद वामदेव गौतमलाई बोल्ने समय दिएकी थिइन्् । एमाले नेता गौतमले सरकारले गैरसंवैधानिक विधेयक ल्याएको बताए । उनले भने, ‘रुपान्तरित संसदलाई संविधान संशोधन गरेर सीमांकन हेरफेर गर्ने अधिकार छैन । कुन बाध्यताले प्रधानमन्त्रीले संविधान संशोधन विधेयक ल्याउनुभयो ? उहाँले नबुझेर ल्याउनुभएको हो वा कसैको दबाबमा परेर ल्याउनुभएको हो ? केही बुझ्न सकिएन ।’

नेता गौतमले तराईलाई पहाडबाट अलग्याउने र नेपाल बहुराष्ट्र हो भन्ने मान्यता स्थापित गर्न संशोधन ल्याइएको बताए । उनले भने, ‘तराई बेग्लै राज्य हो भन्ने मान्यता स्थापित गर्ने हेतुले यो संशोधन प्रस्ताव ल्याएको हो । हामी त्यसको कडा प्रतिवाद गर्छौं ।’ एमाले सांसदहरुले अवरुद्ध तुल्याएपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्