एमाले स्थायी कमिटीका नेता कसले कहाँ मतदान गरे (तस्बिरसहित)


१४ असार । दोस्रो चरण अन्तर्गत बुधवारको निर्वाचनमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सुर्योदय नगरपालिका– ९ स्थित राष्ट्रिय निमावि रम्फोकमा मतदान गरे ।

उपाध्यक्ष वामदेव गौतमले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका– ८ मा रहेको त्रिभुवन उच्च मावि मतदान केन्द्रमा मतदान गरेको उनको सचिवालयले जनाएको छ ।

उपाध्यक्ष तथा सात नम्बर प्रदेश संयोजक भीम रावलले अछाम जिल्लाको साफेबगर नगरपालिका– ६ स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ केन्द्रमा मतदान गरेका छन् ।

उपमहासचिव तथा पाँच नम्बर प्रदेश संयोजक विष्णु पौडेलले बुटवल उपमहानगरपालिका– ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरे । अर्का उपमहासचिव घनश्याम भुसाल तिलोत्तममा नगरपालिका– ९ मणिग्रामस्थित गौतम बुद्ध शिशु सदन आधारभूत विद्यालयमा अपरान्ह ४ वजे मतदान गरे ।

सचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका– ४ स्थित बम्घा निमावि भवनमा मतदान गरे । अर्का सचिव गोकर्ण विष्टले गुल्मीकै इश्मा गाउँपालिका– ४ स्थित रामराज्य माविमा रहेको केन्द्रमा मतदान गरेका छन् । सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले सुनसरीको इनरुवा नगरपालिका– ६ स्थित जनता मावि मधेशामा रहेको मतदान केन्द्रमा दिउँसो दुई वजे मतदान गर्ने कार्यक्रम छ ।

पूर्वसभामुख तथा स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङले इलामको इलाम नगरपालिका– ७ स्थित बालमन्दिर आधारभूत विद्यालय, हाकिमटोलमा मतदान गरेका छन् ।

त्यस्तै पार्टी स्थायी समिती सदस्य शंकर पोखरेल दाङको तुल्सीपुर उपमहानगरपालिका– १९ स्थित जनता विद्यापीठ, बिजौरीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थायी समिती सदस्य छविलाल विश्वकर्माले वुटवल उपमहानागर– ११ स्थित वाणिज्य क्याम्पस, देवीनगरमा रहेको मतदान केन्द्रबाट मतदान गरे । तीन वटा प्रदेशका ३५ जिल्लामा रहेका ३ सय ३४ स्थानीय तहको निर्वाचन आज साँझसम्म जारी छ ।

प्रतिक्रिया दिनुहोस्