एमाले स्थायी कमिटीको यस्तो छ निर्णय


४ असोज । नेकपा (एमाले) स्थायी कमिटीको ४४ औं बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले अध्यक्ष ओलीले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

बैठकले मंगलबार काठमाडौंका दुईवटा विद्यालयमा भएको बम विस्फोट र अन्य विभिन्न स्थानमा विस्फोट गराउने हिसाबले विस्फोटक पदार्थ राखिएको घटनालाई घोर निन्दा र भत्र्सना गरेको छ ।

त्यसैगरी बैठकले मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बेला विद्यालय जस्तो संवेदनशील र शान्ति क्षेत्र घोषणा गरिएका स्थानमा बम विस्फोट र विस्फोटक पदार्थ राख्ने जस्तो सुनियोजित षड्यन्त्र हुनु जनतालाई आतङ्कित तुल्याउने, संविधान कार्यान्वयनमा व्यवधान सिर्जना गरी मुलुकलाई सङ्कटमा पु¥याउने कुत्सित प्रपञ्च भएको पनि आरोप लगाएको छ ।

‘यस्ता आततायी क्रियाकलापमा संलग्नहरूलाई अविलम्ब कानुनको दायरामा ल्याउन र सुरक्षा व्यवस्थाको विश्वसनीय प्रबन्ध गर्न बैठक सरकारसँग माग गर्दछ,’ बैठकपछि एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नेपालले छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग विगतदेखि नै संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा सम्बन्ध विकसित गर्दै आएको छ । तर, वर्तमान सरकारले कुटनीतिमा अन्यथा अर्थ लाग्ने गरी विशेष दूतहरू खटाउने, प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा कतिपय मर्यादा–असङ्गत भेटघाट तथा अभिव्यक्ति दिने जस्ता बिषय र भ्रमणको सन्दर्भमा जारी संयुक्त वक्तव्यका कतिपय प्रावधानहरूले नेपालको उपरोक्त नीति र परम्परामाथि आँच पु¥याएको विश्लेषण बैठकले गरेको छ ।’

विज्ञिप्तिमै भनिएको छ– ‘खासगरी संविधानसँग सम्बन्धित बिषयलाई भारतसँग द्विपक्षीय छलफल र संयुक्त वक्तव्यको बिषय बनाएर नेपालको आन्तरिक मामलामा अनावश्यक वाह्य चासो निम्त्याइएको र सबै अन्तर्राष्ट्रिय सङ्घ–संस्था एवम् मञ्चहरूमा भारतसँग निकट समन्वय गर्ने एवं प्रमुख अन्तर्राष्ट्रिय मामलाहरूमा भारतसँग समान धारणा राख्ने भन्ने प्रावधान उल्लेख गरेर नेपालको स्वतन्त्र विदेश नीतिलाई सीमित पराश्रित गराइएको विषयप्रति नेकपा (एमाले) गम्भीर असहमति प्रकट गर्दछ ।’

दुई पक्षीय सहयोग परियोजनाको अनुगमनका लागि नेपाल सरकार र भारतीय दूतावासका उच्च अधिकारी सम्मिलित संयुक्त संयन्त्र बनाउने कुरा पनि मर्यादा सुहाउँदो नभएको ठहर बैठकले गरेको छ ।

‘इन्धन आपूर्तिका लागि भारतसँग पाइप लाइनसम्बन्धी सम्झौताका कुनै पनि प्रावधानले नेपालको स्वतन्त्र व्यापारको अधिकार र व्यापार विविधीकरणलाई नियन्त्रित गर्दै एकपक्षीय निर्भरतामा सीमित नगरियोस् भन्ने बिषयमा सरकारको ध्यानाकर्षण गर्दछ’ विज्ञप्तिमा भनिएको छ । पार्टी केन्द्रीय कमिटीको सातौँ बैठक भोलि ११ बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्