एमाले स्थायी कमिटी बैठक बस्दै, के–के छन् एजेण्डा ?


३० साउन । नेकपा (माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिई नेपाली कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याएपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही साउन ९ गते पदबाट राजीनामा दिएका थिए ।

ओलीले राजीनामा दिएपछि पहिलो पटक एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । एमाले मुख्यालय धुम्रबाराहीमामा ११ बजेबाट सुरु हुने बैठकमा पाँच वटा एजेण्डा तय भएको एमाले सचिव भीम आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार प्रदेश संगठनको कमिटिको संयोजक तोक्ने, सल्लाहकार कमिटीलाई पूर्णत दिने, जेष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने, स्थानीय निकायको पुर्नसंरचनाका विषयमा छलफल गर्नेलगायतका एजेण्डा छन् ।

सरकारले गठन गरेको स्थानीय निकायको पुर्नसंरचा समितिले ५ सय ६५ स्थानीय तह निर्माण गर्ने तयारी गरेको छ । यो विषयमा एमालेले अहिलेसम्म आधिकारिक धारणा तय नगरेकाले बैठकमा त्यस विषयमा छलफल हुने आचार्यले जानकारी दिए ।

त्यसैगरी गत ६ असारमा बसेको स्थायी कमिटी बैठकले प्रदेश कमिटी निर्माण गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म प्रदेश कमिटीको संयोजक कसलाई बनाउने भन्ने तय भएको छैन । आज बस्ने बैठकले संयोजक तय गर्ने आचार्यले जानकारी दिए । संयोजक कसलाई बनाउने भन्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले फरक–फरक प्रस्ताव अघि सारेपछि अन्योल बन्दै आएको छ ।

नेपाल समूह महाधिवेशनपछि उपाध्यक्षहरुलाई विकास क्षेत्र हेर्ने जिम्मेवारी दिएको र विकास क्षेत्र खारेजी गरेपछि उपाध्यक्षहरु जिम्मेवारी विहीन बनेको भन्दै उनीहरुलाई प्रदेश कमिटीको संयोजक बनाउनु पर्ने अडानमा छ । तर, अध्यक्ष ओली समूह भने स्थायी कमिटीबाट पनि संयोजक तोक्नु पर्ने अडानमा छ ।

नेपाल समूहले पदाधिकारीसम्मबाट छान्दा आफूहरुलाई मान्य हुने भन्दै आएको छ । जेष्ठ कम्युनिष्ट मञ्च भने अहिलेसम्म पनि गठन भएको छैन । त्यसैगरी सल्लाहकार कमिटी गठन भए पनि अहिलेसम्म त्यसले पूर्णता पाएको छैन । आचार्यले यी सबै विषले आजबाट सुरु स्थायी कमिटी बैठकले पूर्णता दिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्