एमाले स्थायी कमिटी बैठक सम्पन्न, जथाभावि अभिव्यक्ति नदिन पार्टी पंक्तिलाई निर्देशन


काठमाडौँ, पुस २४ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले गरेका जथाभावी नियुक्ति, सरुवा–बढुवा र नीतिगत निर्णयको विरोध गरेको छ ।  आज बसेको स्थायी कमिटी बैठकले यस्तो विरोध गरेको हो ।  बैठकपछि सचिव प्रदिप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘यस्ता काम बन्द गर्न सजग गराउन चाहन्छ र यसबीचमा भएका निर्णयप्रति नयाँ सरकारको कुनै दायित्व नरहने स्पष्ट पार्न चाहन्छ ।’

त्यसैगरी बैठकले नीति, नेतृत्व र पार्टी एकता प्रक्रियाबारे सार्वजनिक अभिव्यक्ति नदिन पनि पार्टी पंक्तिलाई निर्देशन दिएको छ । एमालेले एकीकरणलाई असहज तुल्याउने गरी सार्वजनिक सञ्चारमाध्यमबाट नीति, नेतृत्व र एकताका अन्य पक्षका बारेमा आफ्ना निजी धारणाहरु चर्चामा नल्याउन पनि आम पार्टी पंक्तिलाई निर्देशन दिएको छ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बस्ने अघिल्लो दिन बसेको एमाले स्थायी कमिटीले छिट्टै पार्टी एकता हुनेमा निश्चिन्त हुन र अफवाहबाट प्रभावित नहुन पनि आहृवान गरेको छ ।

त्यसैगरी बैठकले निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्पतिलाई नबुझाउनु संविधानको भावना विपरीत भएको निष्कर्ष निकालेको छ ।  ‘कसैको दबाब र प्रभावमा नपरी आफ्नो संवैधानिक दायित्व पूरा गर्न आयोगको र याँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नु सरकारको दायित्व भएको भन्दै ध्यानाकर्षण समेत गराएको छ । प्रदेश प्रमुख नियुक्त गर्ने अनि अस्थायी मुकाम नतोक्ने सरकारको तयारीको पनि एमालेले विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्