एमाले स्थायी कमिटी बैठक सकियो, मंसिरमै निर्वाचन गर्ने निर्णय


४ असार । नेकपा (एमाले) ले जसरी पनि मंसिर महिनामै स्थानीय निकायको निर्वाचन गर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ‘कुनै पनि बाहनामा मंसिर महिनामा स्थानीय निकायको निर्वाचन गर्न नदिने षडयन्त्रलाई चिरेर मंसिरमै निर्वाचन गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने,’ ‘त्यसका लागि सत्ता साझेदार दल र अन्य दलसँग पनि सहमतिको प्रयासलाई जारी राख्ने निर्णय भएको छ ।’ ती नेताले तराई–मधेस लोकतान्त्रिक पार्टीको निर्वाचन अघि नै आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग छलफल अघि बढाउने निर्णय भएको पनि जानकारी दिए ।

शनिबारको बैठकमा प्रदेश कमिटी गठन, जेष्ठ कम्युनिष्ट मञ्च गठन, सल्लाहकार परिषद्को पूर्णतालगायतका एजेण्डा तय भए पनि ती विषयमा खासै छलफल भएन । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कान्र्यान्वयनको कार्ययोजनालाई जसरी पनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले त्यसका लागि सबै दलसँग सहमति र सहकार्यको प्रयास गर्ने र नमाने टुलुटुलु हेरेर सरकार नबस्ने प्रष्ट पारेका थिए ।

‘प्रधानमन्त्री ज्युले बैठकमा संविधान कान्र्यान्वयनको कार्ययोजनालाई जसरी पनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो,’ ती नेताले प्रधानमन्त्रीको भनाई उध्रित गर्दै भने, ‘संविधान कान्र्यान्वयनको कार्ययोजनामा सरकार दृढतापूर्वक अघि बढ्छ, सहमतिका लागि अधिकतम् कोशिस हुन्छ तर प्रतिक्षा गरेर सरकार बस्दैन ।’

प्रतिक्रिया दिनुहोस्