एशिया कप छनोटः ओमन सामु नेपालको दुई सय २२ रनको लक्ष्य


काठमाडौ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमन सामु २२२ रनको लक्ष्य राखेको छ । टस हारेर पहिले ब्याटिङ शुरु गरेको नेपालले ९ विकेटको क्षतिमा २२१ रन बनाउन सफल भएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालका सुवास खकुरेल चार रन र कप्तान पारस खड्का आठ रनमा आउट भए। नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रनको योगदान गरे । उनी ८५ बल खेल्दै २ छक्का र ६ चौकासहित ८३ रन बनाएर रन आउट भएका हुन्। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाएर आउट भएका थिए। त्यस्तै आरिफ शेखले ७४ बलमा ३६ रन जोड्दै आउट भए ।

एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भइसकेका छन् । नतिजा नेपालको पक्षमा तीन र ओमनले दुई खेलमा विजय हासिल गरेको छ ।

एशिया कप भने यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् ।

प्रतिक्रिया दिनुहोस्