एसियाको दोस्रो र नेपालकै पहिलो ‘बत्ती बलेको घर’ पुग्दा (फोटो फिचर)


काठमाडौ, २४ चैत । एक्कासी चिसो बतास चल्यो । आजभोलि अलि गर्मी लागेर होला कोठाको झयाल खुल्लै थियो । यसो बाहिरा हेरे उज्यालो हुनै लागेको जस्तो लाग्यो । यसो मोबाइल हेरेको विहानको ७ बज्नै लागिसकेछ । अहो ! आज मध्य विहानी हुने बेलामा पनि अध्यारै छ । विस्तारै सिमसिम पानी पनि परिरहेको थियो । आज त फर्पिङमा वनभोज खान जानु छ । नभए यस्तो मौसममा त्यो पनि विदाको दिन मज्जाले ओछ्यानमै पल्टिरहन मन थियो । ओच्छ्यानको न्यानोपनलाई छोड्न त मन थिएन तर वनभोजको पीरले सताइरहयो । परिवार नै वनभोजमा जाने तयारीमा थियौ तर पानी सिमसिम परिरहेको थियो । मौसमले साथ नदिएपनि हामीले आयोजकलाई साथ दिने विचार गर्यौ । पानी परेर अन्यौतामा रहेका आयोजक पिकनिक स्पोर्ट पुगिसके थिए । हामी पनि पानीलाई छल्दै विस्तारै आफ्नो गन्तव्य तिर लाग्यौ ।

बल्खु हुदै हामी चोभारतिर लाग्यौ । चोभारको डाडासम्म त ठिकै हो तर विस्तारै अगाडि बढ्दै गर्दा बाटोको स्थितिले यात्रालाई अलि पीडाबोध गरायो । यात्रुहरु कोहि सरकारलाई सराप्दै थिए भने कोही ठेकेदारलाई । पानी परेपछि हिलो, घाम लागेपछि धुलो त्यस रुटमा हिड्ने यात्रुलाई बाटो पिच नभएसम्म अलि सास्ती नै रहेछ । तराई जोड्ने उक्त सडकखण्डलाई चाडो निर्माण गर्न सम्बन्धित निकाय किन मौन छ ? धार्मिक आस्थाको महत्वपूर्ण स्थल दक्षिणकालि मन्दिर यसै सडकखण्ड हुदै जानुपर्छ । उपत्यकाबासि र बाहिरी जिल्लाका भक्तजनहरु पनि दर्शनका लागि आउछन तर बाटो चिप्लो र हिलो, धुलो भएकै कारण उनीहरुलाई यात्रा गर्न कष्ट हुने सहजै अनुमान गर्न सकिन्छ । यात्रा अगाडि बढ्दै गर्दा एउटा बाइक र स्कुटर चिप्लिएर ठोक्किएछन । धन्न दुवै सकुसल उभिरहेका थिए ।

हामी फर्पिङको पावर हाउसतर्फको कच्चिरोड हुँदै अगाडि बढ्यौ । नेपालकै पहिलो र एसियाकै दोस्रो बत्ति बलेको घर तर्फ हाम्रो यात्रा अघि बढ्यो । यस्तो ऐतिहासिक ठाउँका बारेमा अनेकन दृश्यहरु घुमिरहेका थिए । तर कच्चि रोडले सहजै अनुमान लगाउन सकिन्थ्यो स्थिति राम्रो छैन । साँघुरो हिलो कच्चि रोड हिड्दै गर्दा त्यहाँबाट बग्ने खोलाबाट चर्को ढलको गन्ध आइरहेको थियो ।

अप्ठ्यारो बाटो छिचोल्दै हामी पहिलो बत्ती बलेको घरछेउमै पुग्यौ । काठमाडौ विद्युतीय व्यवसायीले आयोजना गरेको बनभोज भएकाले विद्युतीय व्यवसायीको उपस्थिति बाक्लो थियो । र कतिपय व्यवसायीलाई पहिलो बत्ती बलेको घर हेर्ने तिव्र इच्छा पनि । १९६८ सालदेखि प्रसारण सुरु भएको उक्त विद्युत गृह श्री ३ चन्द्रशमशेरले बनाएका थिए । उनले दरबारमा झिलिमिलि पार्न बेलायतबाट सिकेर आएका थिए । यस पावरहाउसमा प्रयोग भएको प्रविधि बेलायत र फ्रान्सबाट ल्याइएको थियो जसबाट पाँच सय किलोवाट बिजुली उत्पादन भएको थियो ।
पावरहाउस बनाउन आजभन्दा एक सय सात वर्ष अगाडि सात लाख पच्चीस हजार रुपैयाँ लागेको स्थानीय बताउछन । आवश्यक मानव श्रमका लागि भने देशभरका सैनिक र कैदीको प्रयोग गरिएको बताइन्छ ।

हाल दक्षिणकालि नगरपालिका वडा नम्बर ३ मा पर्ने उक्त पावर हाउसले कुनै विद्युत उत्पादन नगर्ने स्थानीय ममता बस्नेतले जानकारी दिइन । नेपालको इतिहासमा पहिलो विजुली बत्ती बाल्ने उक्त पावर हाउस संरक्षणको अभावमा जीर्ण देखिन्छ । राणाकालिन दरबारहरु अहिले त्यस क्षेत्रमा वनभोज खान जानेकोहरुको शौचालयमा परिणत भएको छ । प्राकृतिक रुपमा मनोरम रहेको उक्त क्षेत्रले संरक्षण खोजिरहेको छ । भोलिका पुस्ताले नेपालकै पहिलो विद्युत गृह अवलोकन गर्न खोज्यो भने पनि मौका पाउलान भन्न सकिन्न । यो त देशले नै गौरव गर्ने स्थान हो । प्रकृतिले सबैथोक दिएपनि यहाँका स्थानीय सरकार र केन्द्र सरकारको आँखाको नानी बन्न सकेको छैन यस क्षेत्र । पिकनिक स्पोर्टका लागि छानिने यस ठाउँ व्यवस्थीत हुन जरुरी छ । त्यसका लागि नगरपालिकाले तत्परता देखाउनुपर्ने स्थानीय महिला ममता बस्नेतको भनाई छ । उनी भन्छिन ‘यहाँ गार्डेन बनाउने, राणाकालिन दरबारलाई सुरक्षा दिने, बनभोज खान आउनेका लागि पानी र शौचालयको व्यवस्था गर्ने र यस क्षेत्रको दैनिक संरक्षण गर्नका लागि एक जना पालेको पनि व्यवस्था हुनु पर्छ ।’

नेपालकै पहिलो पावर हाउसबाट अहिले विद्युत उत्पादन हुदैन भनेपछि विद्युत व्यवसायीहरु पनि चिन्तित देखिन्थ्ये । यस पावर हाउसलाई र यस वरपर भएका राणाकालिन दरबारलाई संरक्षण गर्न सके आन्तरिक पर्यटकको घुइचो लाग्नेमा कुनै शंका छैन । पर्यटकको आगमनका लागि उक्त सडकखण्डको पनि स्तरउन्नोती गर्न जरुरी देखिन्छ । पर्यटन क्षेत्रलाई यस नगरपालिकाले प्राथमिकतामा राख्यो भने पक्कै पनि वडा नम्बर ३ बासीको जीवनस्तर अझ बलियो बन्ने छ ।

चिसो भएकाले सबैजना खानाको मज्जा लिदै विभिन्न खेलकुदमा पनि सहभागि भइरहेका थिए । विहानैदेखि इट्टाभट्टामा बस्ने बालबालिका पनि रमाइलो हेर्न आएका थिए । कोहीको खुट्टामा चप्पल थिएन । कसैले एकसरो लुगा मात्र लगाएका थिए । नाकभरि सिगाँन बोकेका ती बालबालिकालाई खाजा दिएपछि मैले सोधे तिमीहरु स्कुल जादैनौ । उनीहरु प्रायजसोले स्कुल जादैनन् भन्ने जवाफ दिए । विहान वेलुका खाना नपुग्ने ती बालबालिकालाई स्कुल जान कति समस्या होला ।
यस्तैमा साँझको ६ बजिसकेछ ।

डिनरपछि सबै आप्mनो घरतिर लाग्यौ । सिमसिम पानी, चिसो दिन, हिलो भुँई भएपनि काठमाडौ विद्युतीय व्यवसायीले आयोजना गरेको बनभोज सफल बन्यो ।

power 1 power2 power4 power5 power6 pwer3

 

प्रतिक्रिया दिनुहोस्