‘ओभर स्मार्ट’ भएकाले महाअभियोग, राजीनामा दिन लोकमानलाई सुझाव


५ कात्तिक । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग दुई तिहाईले पारित गर्ने दावी गरेका छन् ।

‘संसद्मा महाअभियोग दर्ता भइसकेको छ, जनमत लोकमानको विपक्षमा छ । यस्तो अवस्थामा कुनै पनि दल ‘ब्याक’ हुन सक्दैनन् । त्यसकारण पनि महाअभियोग दुई तिहाइले पारित हुन्छ’, सचिव भट्टराईले भने ।

एमाले सिन्धुपाल्चोकको दुई नम्बर क्षेत्रीय प्रतिनिधि परिषद्को उद्घाटन गर्न शुक्रबार चौतारा पुगेका भट्टराईले प्रेस चौतारी सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘लोकमानले अति गरेकाले यो अवस्था आएको हो । अति गरे, अति गरेपछि खति हुन्छ । राज्यका विरुद्ध समान्नतर सत्ता चलाउन खोजेकाले यो अवस्था आएको हो ।’

राजनीतिक दलहरुले यस अघि गरेको गल्तीलाई अहिले सच्याउने अवसर भएको सचिव भट्टराईले बताए । ‘दलहरुले गरेको गल्ती सच्याउने अहिले अवसर आएको छ र अब सबै दलहरु लोकमानको विपक्षमा उभिनुको विकल्प छैन’, उनले बताए ।

जुनसुकै सैवधानिक निकाय पनि संविधानको परिधिमा बस्नुपर्नेमा जोड दिँदै अख्तियार प्रमुख कार्की ‘ओभर स्मार्ट’ भएकाले उनको विरुद्ध महाअभियोग ल्याउनुपरेको सचिव भट्टराईले प्रस्ट पारे ।

महाअभियोगको प्रस्ताव संसद्बाट पारित हुनु अगावै लोकमानले राजीनामा दिनु उत्तम हुने भट्टराईको सुझाव थियो । ‘लोकमानसँग अलिकति वुद्धि र विवेक छ भने राजीनाम दिन उपयुक्त हुन्छ, धेरै चतुर बन्न खोज्यो भने भड्खालोमा जाकिनेछन्’, सचिव भट्टराईले भने

संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावमा कांग्रेसले अन्तिमसम्ममा सर्मथन गर्ने भट्टराईले विश्वास गरे । कांग्रेसले लोकतन्त्रको कुरा गर्ने हो भने महाअभियोगमा साथ दिनुपर्ने बताउँदै साथ उनले साथ नदिए जनताबाट सदाका लागि ओराले लाग्ने चेतावनी दिए ।

संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित भएन भन्ने के हुन्छ भने सञ्चारकर्मीको जिज्ञासामा सचिव भट्टराईले भने– ‘संसद्मा गरेको एउटा संसदीय अभ्यास हो, यदि संसद्बाट फेल भयो भने अदालतको कारवाही त बाँकी नै छ नि !’

अर्का प्रसंगमा सचिव भट्टराईले मधेसवादी दलहरुले एमालेसँग निषेधको राजनीति सुरु गरेको बताउँदै आफुहरु मधेशबादी दलहरुसँग अब नयाँ ढंगले सम्बन्ध सुधार गर्ने अभियानमा रहेको र एमालेको चियापान त्यसैको सुरुवात भएको बताए । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले संविधान संसोधन हुन्छ भनेर मधेशबादी दलहरुलाई उधारो आश्वासन दिएर अल्मलाएको बताउँदै सचिव भट्टराइले भने, ‘संविधान संशोधन हुन दुई तिहाई चाहिन्छ, एमालेले समर्थन नगरी दुई तिहाई पुग्दैन ।’

प्रतिक्रिया दिनुहोस्