ओलीले एमाले मुख्यालयमै सुनाए, कालो कुकुर काटेर खाएको कथा


२ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली विरोधीलाई उखान–तुक्का मिलाएर प्रहार गर्न माहिर मानिन्छन् । उनका हरेक भाषणमा उखान–तुक्काको प्रयोग भएन भने स्रोताले पनि खल्लो मान्छन् ।

आफ्नो अडानबाट हत्तपत्त पछि नहट्ने ओलीको भाषणलाई कतिपयले बन्दुकको गोलीको संज्ञा पनि दिने गरेका छन् । शुक्रबार ओलीले एमाले मुख्यालयमा एमालेको कानुन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै भरतपुरमा माओवादी कार्यकर्ताले च्यातेको मतपत्रको सन्दर्भलाई जोडेर उनले ‘कालो कुकुर काटेर खाएको कथा’ सँग जोडे ।

ओलीले प्रदेश नम्बर दुईको निर्वाचन राजपाका कारण नभई अन्तै कबुलिएत गरेको बाचा पूरा गर्नका लागि भएको समेत उनले आरोप लगाए । ओलीले सुनाएको ‘राजाकहाँ कालो कुकुर काटेर खाएको’ कथा ओलीले यसरी सुनाएः

मतपत्र च्यातिएको मुद्दा उच्च न्यायालयमा छ । कानुनको दफा हेरेर सत्तापक्षले मतपत्र च्यात्यो । अनुकुल निर्णय गराउन निर्वाचन आयोगलाई ६ दिन सम्म ङ्याकेको ङ्याकै गरेर, थिचेको थिच्यै गरियो । पुन मतदानको निर्णय गर्न वाध्य बनाइयो । यत्रो तीन तीनवटा निर्वाचन गर्नु छ । निर्वाचन आयोग निरिह भएर कार्यपालिकाको आदेश मान्न वाध्य छ । पहिले एउटा राजाकहाँ कुकुर काटेर खाएको मुद्दा आएछ । राजाले कुकुर काटेर खानु त अपराध हो भनेर फैसला दिएछन् । पछि कसले कुकुर काटेर खाए भन्ने सोधीखोजी भएछ । कुकुर काटेर खाने त भाइ छोरा पो परेछन् ।

अनि राजाले अहिलेका महान्यायाधिवक्ताजस्ता एकजना महान्यायाधिवक्ता बोलाएछन् । महान्यायाधिवक्ताले सोधेछन्–कुकुरको रंग कस्तो थियो ? सबैले कालो रंगको कुकुर थियो भनेछन् । महान्यायाधिवक्ताले कालो चाहिँ रंगको भए खाए हुन्छ है भनेर निर्णय गरेछन् । भरतपुरमा त्यस्तै भयो । त्यहाँ त झन् पहिल्यै योजना बनाएर मतपत्र च्यातिएको थियो ।

अघि शम्भु थापाले ०६४ सालको चुनावमा भोट कम आएको देख्दा मतपत्र देखि रिस उठेको थियो भन्नु भयो । त्यो बेलाको निर्वाचनमा विचरा मतपत्रहरु मतदाताका हातबाट छाप लगाइएका थिएनन् । अहिले त मतपत्रमा मतदाताले मत हाले, सत्तासीनहरुले त्यो देख्न सकेनन् । अनि मतपत्र च्यात्ने योजना बन्यो ।

त्यसै बेला मुख्य निर्वाचन अधिकृत शौचालय पस्नु भयो । किन पस्नु भयो भने उहाँले कसले च्यातेको देख्नेगरी च्यात्नु भएन । अरुले त्यही बेला च्याते । च्यात्नेलाई पनि समस्या थियो निर्वाचन अधिकृतले देख्नेगरी च्यात्नु भएन । निर्वाचन अधिकृतलाई शौचालय रणभूमीतुल्य भयो, मतगणनास्थल होइन । अनि एक हप्तासम्म तान चल्यो, तानमा ओहोर दोहोर गरेजस्तै । सबैले देखेकै छन् यो किन भयो ?

अहिलेका लागि भरतपुर हारिन्छ कि जितिन्छ ठूलो कुरा होइन । सम्मानित सर्वोच्च अदालतमा मुद्दा छ । ठूलो कुरा के हो भने को उठेको ठाउँमा जित्न नपाउने ? निर्वाचन पद्दति र लोकतन्त्र बचाउने कि नबचाउने ?

प्रतिक्रिया दिनुहोस्