ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने ‘बटमलाइन’, संयुक्त दस्तावेज लेख्ने ओलीको ‘प्रस्ताव’


काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन् ।

सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेको बेला अध्यक्ष दाहालले आफू निकट नेताहरुसँगको छलफलमा ओलीले सकेसम्म प्रधानमन्त्री नभए अध्यक्ष छाड्नुपर्ने बताएको स्रोतको दावी छ ।

‘दुईमध्ये एक पद छाड्नुपर्ने विषय धेरै पहिलादेखि वरिष्ठ नेता माधव नेपालले उठाउँदै आएका थिए । अहिले दाहालले पनि यही विषयलाई बटमलाइन बनाउन थालेका छन्,’ दाहाल निकट स्रोतले भन्यो, ‘यो विषय पुरानो हो तर अहिले पनि निकै जोडतोडका साथ उठाइएको छ ।’

तर, ओली भने दुवै पद छाड्ने पक्षमा छैनन् । उनले प्रधानमन्त्री पद लिन निर्वाचन कुर्न र अध्यक्षको पद लिन महाधिवेशन कुर्न भनिसकेका छन् । चार महिनापछि हुने पार्टीको महाधिवेशनले अध्यक्ष पद निर्धारण गर्ने र आगामी निर्वाचनले प्रधानमन्त्री पद निर्धारण गर्ने भएकाले त्यतिबेलासम्म धैर्य गर्न ओलीले भनेका हुन् ।

यता प्रम ओलीले गत भदौ २६ गते स्थायी समिति बेठकले गरेको निर्णय कार्यान्वयन गर्ने र दाहालले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन फिर्ता गरी दुवै अध्यक्षको संयुक्त दस्तावेज ल्याउन प्रस्ताव गरेका छन् । बिहीबार बिहान महासचिव विष्णु पौडेलले सो प्रस्ताव लिएर खुमलटार पुगेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्