ओलीले भैरहवा विमानस्थलबाट भने– ‘प्रदेश नम्बर–५ का जनताले तराईबाट अलग हुन चाहेको हो ?’


४ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अहिले संविधान कार्यान्वयनको बेला भएको भन्दै संविधान संशोधनका बहसमा अलमलिनुको कुनै तुक नभएको बताएका छन् ।  प्रदेश नम्बर–५का आगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने गक्रममा भैरहवा विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘अहिले संविधान कार्यान्वयनको बेला हो, संविधान कार्यान्वयनमा व्यवधान भयो भने संविधान संशोधन भन्नु एउटा कुरा हो,’ ओलीले भने, ‘तर, कार्यान्वयनको होइन संशोधनको कुरा गर्नु, संविधान कार्यान्वयनको कुरा नगर्नु, संशोधनको विषयलाई उचाल्नु, संविधान कार्यान्वयन गर्ने हो भने संशोधन चाहियो भन्नु, संशोधन नभइ कार्यान्वयन हुनै सक्दैन भन्नु, संविधानको कुन धारामा उल्लेख छ ?’

उनले संविधान कार्यान्वयनका लागि व्यवधान के हो भनेर भन्न नसक्नु तर निरन्तर संविधान संशोधनका मात्र कुरा गर्नु प्रायोेजित षडयन्त्र भएको पनि आरोप लगाए । ‘म प्रदेश नम्बर–५ का जनता र जनप्रतिनिधिसँग सोध्न पनि आएको हुँ,’ उनले भने, ‘पाँच नम्बर प्रदेश तराई र पहाडसँग मिसिएको छ भनेर छुट्याउँनै पर्छ भन्ने कतिपयको जबरजस्त माग छ, मेरो पहिलो प्रश्न यसलाई अलग गर्ने पर्ने कारण के–छ ?’

ओलीले प्रदेश नम्बर–५ छुट्याउनै पर्ने माग किन ? भनी प्रश्न समेत गरे । ‘मेरो तेस्रो प्रश्न प्रदेश नम्बर–५ लाई हेरफेर गर्दा के फाइदा छ,’ उनले भने, ‘प्रदेश नम्बर–५ को पहाड र तराई अलग नगर्दा यहाँका जनताले पाउने सहुलिय, उपभोग गर्न पाउने अधिकार, प्राप्त गर्ने सुरक्षा, यहाँका जनताको एकताको भावना र सामाजिक सद्भाव, विकासका संभावना हो ?’

ओलीले प्रदेश–५ का जनताको इच्छा अलग हुने होइन भने अरुमा मात्र इच्छाले केही नहुने पनि उनले दाबी गरे । ‘म भन्न चाहन्छ, एमाले संविधान संशोधनको विपक्षमा छ भन्ने भ्रम छर्न खोजिएको छ,’ उनले भने, ‘एमाले विपक्षमै रहेका कारण संविधान कार्यान्वय हुन सकेन भन्ने हल्ला गरिएको छ । त्यो होइन एमालेले त्यसो विल्कुल गरेको छैन ।’

अंगीकृतवालालाई किन छिट्टै ठूलो पद चाहियो ?

उनले एकै दिनमा नेपाल आएर एक जना केटा समातेर नागरिकता बनाएर समानुपातिक कोटाबाट सांसद् मन्त्री वा ठूलै पार्टीको कोषाध्यक्ष भन्ने अधिकार दिएको भन्दै त्यो भन्दा बढी नखोज्न आग्रह गरे । ‘मन्त्री पनि हामीले बनाएकै छौँ,’ उनले भने, ‘अब राष्ट्रपति नै चाहियो भन्ने उहाँहरुको त्यो माग चाँहि मान्न सकिन्न ।’ उनले अहिले विभिन्न बाहनामा तत्कालिक र दीर्घकालिक रुपमा देशको अहित गर्ने काम भैरहेको भन्दै त्यसको विरोधमा एमाले रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्