ओलीले हटाए ‘विवादित’ पीए


२१ मंसीर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ‘विवादित’ स्वकीय सचिवलाई हटाएका छन् । स्वकीय सचिव रहेका रमेश आचार्यका बारेमा पार्टीका नेता–कार्यकर्तादेखि उद्यमी–व्यवसायीबाट समेत लगातार गुनासो सुन्नुपरेपछि उनलाई विदा गरिएको बालकोट स्रोतले जानकारी दिएको हो ।

धादिङ घर भएका आचार्य अखिलमा काम गर्दागर्दै ओलीको नजिक पुगेका थिए । ओली प्रधानमन्त्री हुँदासमेत स्वकीय सचिव बनेका उनलाई विभिन्न व्यापारीहरुसँग साँठगाँठ गरी आर्थिक उपार्जनमा संलग्न भएको भन्दै ओलीसमक्ष त्यतिबेलै उजुरी परेका थिए ।

प्रधानमन्त्रीबाट विदा भएर बालकोट सरेपछि ओलीले अब यहाँ नआउनू भन्ने संकेत गरे पनि विहानै बालकोट पुग्ने र अरुलाई प्रभाव पार्न कोट लगाएर ओलीको कार्यक्रम हुने स्थलमा पुग्ने गरेका आचार्यलाई हालै घरमा बोलाएर उनले विधिवत् रुपमा विदा गरेका हुन् । केही मेडिकल कलेज, बालुवा–गिट्टी निकासीकर्तालगायतले ओलीसमक्ष आचार्यका बारेमा गुनासो गरेका थिए ।

कर्णबहादुर थापाका बारेमा यस्तै गुनासो सुन्नुपरेपछि ओलीले उद्योगमन्त्रीबाटै निकालिदिएका थिए ।

ओलीको सचिवालयमा कार्यरत झापाका देबेन्द्र दाहाललगायतले पनि छुट्टी पाएका छन् । अध्यक्ष ओलीले इन्द्र भण्डारीलाई पनि संसद्तिरको काममा सीमित गरेका छन् ।

एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले रामबाबु अधिकारीलाइ पनि यस्तै गरी बद्नाम भएपछि विदा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्