प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि ओली दोस्रो पटक बालुवाटार, प्रचण्ड र देउवासँग के–के भयो कुराकानी ?


२ मंसिर । प्रधानमन्त्री निवसास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भएको छ । भर्खरै सकिएको छलफलमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव, संविधान संशोधनलगायतका विषयमा छलफल भएको थियो । छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन के–का लागि भन्ने स्पष्ट खाका ल्याउन आग्रह गरेका थिए ।

बुधबार प्रधानमन्त्री प्रचण्डसँग भएको भेटवार्तामा पनि ओलीले त्यही कुरा राखेका थिए । पछिल्लो समय संघीय गठबन्धन र मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई छिटो संशोधन प्रस्ताव ल्याउन दबाब दिएपछि प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दल नेपाली कांग्रेसले एमालेसँगको छलफललाई तिव्रता दिएको छ ।

बिहीबार पनि एमालेसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका विषयमा नरम  बन्न आग्रह गरेका थिए । प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि दोस्रो पटक बालुवाटार पुगेको ओलीले हचुवाका भरमा एमालेले सहयोग गर्न नसक्ने जवाफ दिएका थिए ।

‘अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव, संविधान संशोधनलगायतका विषयमा छलफल भयो,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले ओलीको भनाई उद्धिृत गर्दै भने, ‘छलफलमा सहमति जुट्न सकेन् । अर्को बैठक  ६ गते बस्ने गरी सम्पन्न भयो ।’

प्रतिक्रिया दिनुहोस्