ओली र प्रचण्डबीच उच्चस्तरीय भेटवार्ता, एकता संयोजन समितिको बैठक बोलाउने समहमति


काठमाडौँ, २३ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच उच्चस्तरीय भेटवार्ता भएको छ । मंगलबार साँझ ओली निवास बालकोटमा भएको सो भेटवार्तापछि एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको छ । भेटवार्तामा पार्टी एकता, सरकार गठन लगायतका विषयमा पनि कुराकानी भएको छ ।

उनीहरुको भेटवार्तापछि  एकता प्रक्रिया तत्काल अघि बढाउन मंगलबार नै एउटा समूह गठन गर्ने सहमति भएको छलफलपछि अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग प्रतिक्रिया दिए ।  ‘पार्टी एकताको काम तत्काल अघि बढाउने विषयमा छलफल भएको छ, सोमबार नै एमाले र माओवादीले आआफ्ना तहमा छलफल गर्न बैठक बस्ने सहमति भएको छ,’ उनले भने, ‘त्यसपछि मंगलबार दुई पार्टीका नेताहरुको एकता संयोजन समितिले दुई पार्टी एकताका लागि एउटा समिति बनाएर आवश्यक काम तत्काल अघि बढाउनेछ ।’

अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्ड जाने भएकाले उनी त्यता जानु अघि नै एक खालको निष्कर्षमा पुगिने नेताहरुले बताएका छन् ।

सोमबार र मंगलबार छुट्टाछुट्टै र संयोजन समितिको बैठक बसेर पार्टी एकताको काम अघि बढाउन दुई अध्यक्ष सहमत भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्