ओली सरकारको अनौठो मापदण्ड : राजदूतमा नेताका सासू र सालीदेखि व्यापारीका छोरीसम्म योग्य !


सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ ।

पूर्व मुख्यसचिव समेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतका रुपमा चीन पठाउने निर्णय गरेको छ ।

पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणा जापानमा राजदूत छिन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकारले राणालाई २०७४ वैशाखमा राजदूत बनाएको हो ।

जापानजस्तो नेपालको असल विकास साझेदार देशमा बुढेसकालमा आराम गर्न राणालाई पठाइएको हो । उनको कामको विषयमा परराष्ट्र मन्त्रालयका कुनै पनि अधिकारी सन्तुष्ट छैनन् । त्यतिबेला कांग्रेस सरकारमा रहेकाले उनको नियुक्त भयो । अहिले देउवा प्रतिपक्षी दलका नेता भएकाले सरकारले राणालाई फिर्ता बोलाउन सकेको छैन ।

कांग्रेस र माओवादीकै सरकारका पाला विजय गच्छदारको पार्टीको कोटाबाट शर्मिला पराजुली ढकालले राजदूत हुने अवसर पाएकी थिइन् । म्यानपावर व्यवसायी उनलाई ओमानका लागि राजदूत बनाइएको थियो ।

नेपाली कामदारका लागि ओमान पनि आकर्षक गन्तव्य हो तर कामदारको हकहित संरक्षण गर्ने होइन, म्यानपावर व्यवसाय प्रवद्र्धन गर्न दिने उद्देश्यले पराजुलीलाई राजदूत बनाइएको थियो । तत्कालीन सरकार मात्र होइन, वर्तमान सरकारको नेतृत्वसँग पनि उनले धेरै राम्रो सम्बन्ध बनाएकी छिन् । त्यसैले उनको पद पनि सुरक्षित छ ।

ओली सरकारका पाला राष्ट्रिय सम्पत्तिमा सबैभन्दा बढी दोहन गरेको यती समूहले कूटनीतिक क्षेत्रमा पनि परिवारका मान्छे पठाएको छ । यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाकी छोरी दावाफुटी शेर्पालाई सरकारले गत ९ भदौमा राजदूत बनाएको हो । स्पेनमा नेपालको कूटनीतिक प्रतिनिधित्व उनैले गर्छिन् । अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले साली अञ्जन शाक्यलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक बनाएका थिए । यसपालि उनलाई राजदूत बनाएर इजरायल पठाएका छन् ।

सुशील कोइराला प्रधानमन्त्री हुँदासम्म कांग्रेसको राजनीति गरेका महेशराज दाहाललाई तत्कालीन सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक बनाएको थियो तर गत निर्वाचनमा उनी चितवनमा वाम गठबन्धनको प्रचारमा हिँडे । एमाले र माओवादी मिलेपछि नेकपामा समाहित भएका दाहाल अहिले अस्ट्रेलियाका लागि राजदूत छन् । यस्ता कुनै पनि राजदूतको कार्यक्षमतामाथि सरकारलाई चासो छैन तर लीलामणि पौड्याललाई भने चीनबाट तत्काल फिर्ता बोलाइएको छ ।

उसो त सरकारले अमेरिकामा राजदूत नियुक्त गर्न नसकेर तत्कालीन राजदूत अर्जुन कार्कीलाई नै ‘अर्को व्यवस्था नहुन्जेलसम्म’ भनेर जिम्मेवारी दिएको छ । तत्कालीन राजदूत डा. विश्वम्भर प्यार्कुयालले राजीनामा दिएपछि श्रीलंकाका लागि राजदूत नियुक्त गरिएको छैन । दक्षिण कोरिया र दक्षिण अफ्रिकामा पनि राजदूत पद खाली छ ।

स्वास्थ्य मन्त्रालयमा डेढ वर्षमा ६ सचिव

यादव कोइराला डेढ वर्षमा स्वास्थ्य मन्त्रालय पुग्ने छैटौं सचिव बनेका छन् । यसअघि पाँच सचिवको सरुवा भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले स्वास्थ्यसचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा लगेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कोइरालालाई स्वास्थ्यमा ल्याउने निर्णय गरेको छ ।

२०७५ असोज २८ गते सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णयसँगै स्वास्थ्य मन्त्रालयको प्रशासनमा अस्थिरता शुरू भएको हो । सरकारले मन्त्रालयमा प्रशासन तर्फका केदारबहादुर अधिकारीलाई मंसिर १७ गते स्वास्थ्य सचिवका रुपमा सरुवा गरेको थियो ।

माघ ३ मा अधिकारीलाई पनि स्वास्थ्यबाट सरुवा गरेर सरकारले अर्का सचिव चन्द्र घिमिरेलाई स्वास्थ्यमा पठाएको थियो । सरकारले घिमिरेलाई पनि वैशाख २ मा स्वास्थ्यबाट सरुवा गर्‍यो । उनको ठाउँमा कर्णाली प्रदेशको प्रमुख सचिव रहेका रामप्रसाद थपलियालाई पठाइएको थियो । भदौ ९ गते स्वास्थ्य सचिवका रुपमा रहेका रामप्रसाद थपलियालाई हटाएर शिक्षा सचिव रहेका खगराज बराललाई स्वास्थ्य सचिवमा सरुवा गरिएको थियो । उनको पनि सरुवा भएको छ । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्