कञ्चनपुर घटनामा अर्को उच्चस्तरीय अनुसन्धान टोली गठन


काठमाडौं, १८ भाद्र ।  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अर्को समिति गठन गरेको छ ।
सोमबार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरिएको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिएका छन् ।

‘जिल्लामा अनुसन्धान गरिरहेको टिमलाई आवश्यकता अनुसार सहयोग गर्न नयाँ टोली पठाइएको छ’ प्रहरी प्रवक्ता क्षेत्रीले भने, ‘सीआईबीका एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा ब्याकअप टोली गठन भएको हो ।’

समितिका सदस्यमा ब्युरोका डिएसपी कमल थापा लगाएका अफिसरहरु रहेका छन् । टोली त्यहाँ पुगेर काम थालिसकेको जनाइएको छ ।

यसअघि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरि मैनाली नेतृत्वको समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ । यस्तै घटनाको सुरुवाती चरणमा अनुसन्धान गर्न सीआईबीकै डीएसपी अंगुर जोशी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो ।

बलात्कारपछि हत्या भएको २५ दिनपछि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय र जोशी नेतृत्वको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेपछि आन्दोलन चर्किएको थियो ।११ वर्षीया बालिका निर्मला पन्त साउन १० गते मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्