कति बुझाउँछन् सांसदले पार्टीलाई लेबी ?


१९ असार । पदीय हिसावले सांसद सबैको नजरमा पर्छ । तर, उसले पाउने सुविधा हेर्ने हो भने प्रश्न उठ्छ,– एउटा इमानदार सांसद काठमाडौँमा कसरी बस्न सक्ला ? त्यसमा पनि प्रमुख राजनीतिक दलले सांसदबाट ठूलो मात्रामा लेबी लिन्छन् ।

प्रमुख दलहरुले सांसदबाट एकएक गरी लेबी उठाउने झन्झट पनि गर्दैनन् । उनीहरुले संसद् सचिवालयलाई पत्र लेखेर तलबबाट पहिल्यै कट्टा गरी आफ्नो खातामा जम्मा गराउँछन् । सांसदले ७४ हजार रुपियाँ बुझेको अभिलेख भेटिने गरे पनि शाखा अधिकृत तहको स्वकीय सचिवलाई उसले पाउने जति पैसा दिने हो भने कर र लेबी चुक्ता गरेर हातमा चाहिँ मुश्किलले ३० हजार पर्ने देखिन्छ ।

केही साना दलले लेबी नलिने गरे पनि प्रमुख दल सबैले लिन्छन् । घटीमा ५ हजारदेखि बढीमा १९ हजारसम्म लिने दलहरु छन् । नेपाल मजदुर किसान पार्टीले त सांसदको पूरै तलब आफैँ लिन्छ र आवश्यक खर्च मात्र दिन्छ ।

कांग्रेसका सांसदलाई राहत

संसद्मा सबभन्दा धेरै रहेका नेपाली कांग्रेसका सांसदहरुलाई भने अरुलाई भन्दा राहत छ । उक्त पार्टीले सांसद्बाट मासिक जम्मा ५ हजार रुपियाँ काट्छ ।

सानाले लिँदैनन् लेबी

एक–दुई सांसद रहेका साना पार्टीले चाहिँ लेबी नतोक्नुको कारण छ । जस्तो, संघीय सद्भावना पार्टीकी एकजना मात्र सांसद छन्, डिम्पलकुमारी झा । उनी पार्टी अध्यक्ष अनिलकुमार झाकी श्रीमती हुन् । त्यसो हुँदा उनले सांसदमाथि लेबी लगाइरहनु परेन । फोरम गणतान्त्रिकमा पनि यस्तै छ । आफैँ सांसद रहेका प्रेमबहादुर सिंहले झन् किन लगाउँथे र ? साना पार्टी विभाजन भएपछि लेबी लिन रोकिएको छ ।

कुन दलका सांसदले कति बुझाउँछन् लेबी ?

१. नेपाली कांग्रेस ५ हजार
२. नेकपा (एमाले) १३ हजार
३. माओवादी केन्द्र १२ हजार
४. राप्रपा नेपाल १५ हजार
५. संघीय समाजवादी फोरम १५ हजार
६. फोरम (लोकतान्त्रिक) १५ हजार
७. राप्रपा १५ हजार
८. सद्भावना पार्टी १० हजार
९. तमलोपा ७ हजार
१०. थरुहट १९ हजार
११. जनमुक्ति १० हजार
१२. नेकपा (माले) १२ हजार
१३. तमसपा १५ हजार
१४. रामसपा १५ हजार

यिनले लिँदैनन् लेबी
१. नेकपा (संयुक्त)
२. नेपाल परिवार दल
३. राष्टिय जनमोर्चा
४. अखण्ड नेपाल
५. फोरम (गणतान्त्रिक)
६. नेपाली जनता दल
७. खम्बुवान राष्टिय मोर्चा
८. नेपाः राष्टिय पार्टी
९. जनजागरण पार्टी
१०. संघीय सद्भावना पार्टी
११. दलित जनजाति पार्टी
१२. समाजवादी जनता पार्टी
१३. बहुजन शक्ति पार्टी
१४. मधेस समता पार्टी
१५. संलोराम

प्रतिक्रिया दिनुहोस्