कथित जनयुद्ध र नयाँ दिल्लीको बाह्रबुँदे समझदारीले देश संकटमाः कमल थापा


२१ भदौ । राप्रपा नेपालले भारतको राजधानी नयाँ दिल्लीमा २०६२ साल मंसिरमा भएको बाह्रबुँदे समझदारीको परिणामस्वरुप सुरु भएको बाह्य शक्तिहरुको चलखेल अहिले झन तीव्र भएको आरोप लगाएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय कार्य समितिको बैठकमा छलफलका लागि राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा बढेर गएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

उनले देश र जनताको हितमा नरहेका एवम् विरधोभाषपूर्ण कतिपय अवधारणाहरुलाई हचुवाका आधारमा संविधानमा संस्थागत गरिएबाट संकट अझ चुलिदैँ जाने खतरा देखिएको पनि उल्लेख गरेका छन् ।

‘२०६२/६३ को जनआन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने नाममासंविधानसभाको निर्वाचनपूर्व नेपाली जनताको अभिमत बिना नै लादिएका अवधारणा, त्रुटिपुर्ण मार्गचित्र एवम् संविधान निर्माणको क्रममा कायम गरिएको ‘सिण्डिकेट’ मानसिकता र प्रक्रियाको परिणामस्वरुप देश संकटको भूमरीमा नराम्रोसँग फसेको तथ्य सर्वविदित छ,’ उनले भनेका छन् ‘संंविधानमा समावेश भएका कतिपय विरोधाभाषपूर्ण मान्यताहरुले यो संकटलाई अझ जटिल बनाउने खतरा टडकारो देखिन्छ ।’

उनले अहिले अहिले विखण्डनकारी आवाज अत्यन्त प्रारम्भिक र नगण्य अवस्थामा रहेको पनि उल्लेख गरेका छन् । ‘तर, विगतमा एउटा भरुवा बन्दुक र एउटा पेस्तोल बोकेर करिब सयजना जतिले सुरु गरेको कथित जनयुद्ध एक दशक नपुग्दै डरलाग्दो शक्ति बनेको तितो यथार्थ हाम्रो सामुन्ने छ,’ उनले भनेका छन् ‘विगतमा जस्तै केही प्रमुख भनिने राजनीतिक दलहरुको अकर्मण्यता, स्वार्थ र सत्तालिप्साको कारणबाट अहिले निकै सानो हैसियतमा रहेको विखण्डनकारी तत्व कालान्तरमा खतरनाक अवस्थामा पुग्ने हो कि भन्ने अहिले सबै भन्दा ठूलो चिन्ताको विषय बनेको छ ।’

उनले धर्मनिरपेक्षताको आडमा योजनावद्ध एवं संगठित रुपले धर्म परविर्तन गराउने कार्य तीव्र गतिले अघि बढेको पनि आरोप लगाएका छन् । उनले समावेशी र समानुपातिक सिद्धान्तको दृष्टिकोणबाट संविधान तुलनात्मक रुपमा प्रगतिशील र अग्रगामी रहेको पनि उल्लेख गरेका छन् । उनले समान बिचारधारा भएका राजनीतिक दल तथा समुहहरुसँग एकता गर्दै जाने नीतिलाई पनि निरन्तरता दिइने बताएका छन् ।

‘पार्टीको फरक बैचारिक धार, संविधान निर्माणमा पार्टीको सशक्त र रचनात्मक भुमिका एवं सरकारमा रहेर पार्टीले खेलेको प्रभावकारी भूमिकाको कारणले गर्दा नेपाली जनता तथा अन्तराष्ट्रि समूदायले राप्रपा नेपाललाई नेपालको उदयिमान शक्ति र भविष्यको गम्भीर विकल्पका रुपमा सोच्न थालिसकेका छन्,’ उनले भनेका छन् ‘यस वास्तविकतालाई हृदयंगम गर्दै पार्टीभित्र एकता कायम राख्दै जिम्मेवारीपूर्ण ढंगबाट हामीले काम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्