कफीको उत्पादन घट्यो, अब १० लाख बिरुवा रोप्ने तयारी


१ मंसिर । अमेरिका, क्यानडा, जर्मनी र दक्षिण कोरियामा समेत निर्यात हुने नेपाली अग्र्यानिक कफीको उत्पादन यो वर्ष घट्न पुगेको छ । रोग र कीराका प्रकोपको कारण कफी उत्पादन ६ प्रतिशतले घट्न पुगेको हो ।

बुधबार कफी दिवस मनाउने तयारी भइरहेको बेला राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी–निर्देशक शेषकान्त गौतमले बताए, ‘कफीमा विभिन्न रोग र कीराको प्रकोप बढ्न थालेको हुँदा उत्पादन घट्न पुगेको हो । खडेरीले पनि कफी उत्पादनमा कमी आएको देखिन्छ ।’ गत वर्ष ४ सय ६३ मेट्रिक टन कफी उत्पादन भएकोमा यो वर्ष भने ४ सय ३४ टन मात्रै उत्पादन हुन पुगेको छ ।

यो वर्षको कफीको उत्पादन घटे पनि करिब १० लाख बिरुवा रोपिने लक्ष्य राखिएको कार्यकारी निर्देशक गौतमले बताए । बोर्डले २०७३ साललाई कफी रोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । गत वर्षलाई भने बोर्डले नर्सरी वर्ष घोषणा गरेको थियो । नर्सरी वर्षको घोषणा हुँदा कफीका करिब १० लाख बिरुवा तयार हुनपुगेको थियो । त्यही बिरुवालाई यो वर्ष अभियानकै रुपमा रोपिने जनाइएको छ ।

गएको वर्ष २ हजार ६ सय १८ हेक्टर क्षेत्रफलमा कफीको बिरुवा रोपिएको थियो । यो वर्ष भने करिब ५ सय हेक्टरमा रोपिने गौतमले बताए । ती बिरुवाहरु कफी उत्पादनका लागि चिनिएका जिल्लाहरु गुल्मी, पाल्पा, स्याङ्जा, पर्वत, कास्की, नुवाकोट, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलान्चोक र प्यूठानमा रोपिनेछन् ।

यसबीच, बुधबार बोर्डले ‘गुणस्तरीय कफी उत्पादन आजको प्रमुख आवश्यकताः आत्मनिर्भरता र निर्यात प्रबद्र्धनका लागि अर्थपूर्ण सार्थकता’ नारा दिएर कफी दिवस मनाउन लागिरहेको छ । बोर्डले निर्यात प्रबद्र्धनमा जोड दिएको बताउँदै कार्यकारी निर्देशक गौतमले भने, ‘हामीले अमेरिका, क्यानडा, जर्मनी र कोरियामा १ सय १२ मेट्रिक टन अग्र्यानिक कफी निर्यात गर्दै आइरहेका छौं । त्यसलाई विस्तार गर्ने योजना बनाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्