कमरेड, गुटबन्दी अन्त्य गर्ने १० बुँदे प्रस्ताव दाङ र बारासम्म अझै पुगेन ?


१६ असोज । असोज ५ देखि ९ गतेसम्म धुम्वाराहीमा बसेको नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ बैठकले गरेको एउटा महत्वपूर्ण निर्णय थियो, पार्टीमा फैलिएको गुटबन्दी अन्त्य गर्ने ।

त्यही भन्दै बैठकले महत्वका साथ १० बुँदे विशेष प्रस्ताव पारित पनि गर्यो । पार्टीका संस्थागत निर्णयहरुलाई कार्यान्वयन गर्दै वैचारिक, राजनीतिक र संगठनात्मक कामहरुलाई प्राथमिकता दिने, कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचनहरु प्यानल सूचीका आधारमा नगर्ने जस्ता कुरा १० बुँदे प्रस्तावमा उल्लेख गरियो । त्यति मात्र होइन बैठकको समापनका दिन १६ बुँदे प्रस्ताव पारित भयो । त्यसमा पनि १० बुँदे प्रस्तावको भावना र मर्म अनुरूप पार्टीको आन्तरिक जीवनलाई थप सुदृढ, व्यवस्थित र संस्थागत गर्दै आउने दिनका चुनौतीहरूको एकतावद्ध भएर सामना गर्न सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्ने कुरा उल्लेख गरियो ।

बैठक ९ गते सकियो । त्यसपछि तीन दिनपछि १२ गते बारा जिल्लाको नवौँ जिल्ला अधिवेशनको धुमधामसँग उद्घाटन भयो । अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनेर प्रचार–प्रसार पनि भयो । तर, अन्तिम समयमा ओली उद्घाटन कार्यक्रममा उपस्थित हुन नसकेपछि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले कोल्भीमा अधिवेशन उद्घाटन गरे ।

उद्घाटनपछि त्यहाँ होहल्ला भयो । प्रतिनिधिलाई बस्नका लागि राम्रो आवास नभएको, खाना राम्रो नभएको, शौचालयको व्यवस्थापन राम्रो नभएको भन्दै बन्दशत्र सुरु हुने वित्तिकै होहल्ला भयो । धेरै प्रतिनिधिहरुले व्यवस्थापन समितिको तीव्र आलोचना गरेपछि बन्दशत्र नै हुन सकेन र आगामी कात्तिक ५ र ६ गते त्यही स्थानमा गर्ने गरी स्थगित भयो ।

होहल्लाले मिति सरेको भन्नु बाहना मात्र

केन्द्रबाट गुटबन्दी अन्त्य गर्ने भनिए पनि त्यहाँ निर्धारित मितिमा सम्मेलन हुन नसक्नुको प्रमुख कारण गुटबन्दी नै भएको नेताहरुले दाबी गरेका छन् । ‘प्रतिनिधिले होहल्ला गरेर सम्मेलन स्थगन भयो भन्ने चर्चा मात्र हो,’ एक नेताले भने, केही साथीहरुले आफ्नो टीम मिलाउन नसकेका कारण सम्मेलन स्थगन भएको हो ।’ ती नेताले बारामा अध्यक्ष ओलीका नाममा खडा भएको समूहकै तर्फबाट अध्यक्षका लागि दुइै जना उम्मेदवारले दावी गरेकाले उनीहरुलाई मिलाउन नसकेकाले बखेडा झिकेको दाबी गरे ।

केन्द्रीय सल्लाहकार समितिका सदस्य रहेका युवा नेता अच्युत मैनालीले कृष्ण पौडेललाई अघि सारेका छन् भने प्रदेश नम्बर दुईका सदस्य विनोद साहले कलैयाका पूर्व मेयर रविनदास श्रेष्ठलाई अघि सारेका छन् । उनीहरु दुबै जना ओली निकट दावी गर्छन् ।

बरिष्ठ नेता माधव नेपाल समूहले सुन्दर विकलाई अघि सारेको छ । ती नेताले केही दिन ढिला गर्दा उम्मेदवार मिलाउन सकिने भएकाले ओली समूहले नियतबस नै सम्मेलन मिति सारेको आरोप लगाए ।

दाङको पनि कथा उस्तै

केन्द्रीय कमिटीको बैठक सम्पन्न भएकै भोलिपल्ट एमाले दाङको १२ औँ जिल्ला अधिवेशन पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरे । सम्मेलनमा उपाध्यक्ष युवराज ज्ञवालीदेखि उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोख्रेलसम्मको उपस्थिति थियो । उनीहरुले सम्मेलन उद्घाटन गरेर फर्केको चार दिन विते पनि अहिलेसम्म त्यहाँ निर्वाचन प्रक्रिया नै अघि बढ्न सकेको छैन । त्यहाँ पनि विवादको चुरो अरु नभई गुट नै देखिएको छ ।

प्रदेश नम्वर पाँचका सदस्य टिकाराम खड्का, वर्तमान सचिव हुकुम बस्नेत र संगठन बिभाग प्रमुख हिराचन्द्र केसीले अध्यक्षको दाबी गर्दै आएका छन् ।

खड्का र केसी बरिष्ठ नेता नेपाल पक्षका हुन भने बस्नेत अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । दुबै समूहले आफू अनुकुल वातावरण खोजेपछि उद्घाटनको चौथो दिन पनि कुनै नतिजा आउन सकेको छैन । अहिले दुबै समूह गुटगत भेलामा व्यस्त छन् ।

यस्तो छ पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि प्रस्तुत गरेको १० बुँदे विशेष प्रस्ताव
१. पार्टीका संस्थागत निर्णयहरुलाई कार्यान्वयन गर्दै वैचारिक, राजनीतिक र संगठनात्मक कामहरुलाई प्राथमिकता दिने ।
२. पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरुलाई तदरुकताका साथ कार्यान्वयन गर्ने र यसको सार्वजनिक रुपमा प्रतिरक्षा र प्रसार गर्ने ।
३. पार्टीको विचार, प्रतिष्ठा र लोकप्रियतामा आ“च पुग्ने किसिमका कुनै पनि गतिविधि नगर्ने तथा बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र संगठनका बैठकहरुमा विधान र नियमअनुरुप यथोचित रुपमा पद्दतिसम्मत रुपमा छलफल गर्ने ।
४.विधि, नीति, पद्धति तथा पारदर्शिताको अनुशरण गर्दै नेता, कार्यकर्ता र सदस्यहरुलाई योगदान, योग्यता, क्षमता, सक्रियता र इमानदारीका आधारमा कामको जिम्मेवारी दिने र कुनै पनि प्रकारको पूर्वाग्रहपूर्ण पक्षधरताको व्यवहार नगर्ने ।
५. पार्टीका अधिवेशन, जनसंगठनका सम्मेलन र विभिन्न कार्यक्रमहरुमा अतिथि र सहभागीको नाम निर्धारण सम्बन्धित कमिटी र संगठनको माग, सम्बन्धित कमिटी र संगठनको जिम्मेवारस“गको परामर्शको आधारमा पार्टी केन्द्रीय सचिवालयले गर्ने । सम्बन्धित कमिटी र संगठनस“ग प्रत्यक्षतः असम्बन्धित तथा उक्त प्रक्रियाबाट नतोकिएका व्यक्ति कार्यक्रममा सहभागी नहुने ।
६. कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचनहरु प्यानल सूचीका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, सक्रियता, योगदान, इमानदारी र लोकप्रियताका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्ने । यसो नगर्ने व्यक्ति र संगठनहरुलाई अनुशासनको कारवाही हुन सक्ने गरी नियमावली संशोधन गर्ने ।
७.  सम्पूर्ण रुपमा एकताबद्ध भएर सबै प्रकारका चुनौतीहरुको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिंदै पार्टीलाई सक्रिय र गतिशील बनाउने ।
८. पार्टीको संगठनात्मक जीवन र राष्ट्रिय जीवनका महत्वपूर्ण विषयमा सामूहिक छलफलको प्रणालीबाट निष्कर्षमा पुग्ने ।
९. पार्टी सदस्यता, पार्टीका विभिन्न स्तरका अधिवेशन तथा जनसंगठनका सम्मेलनहरुका सम्बन्धमा विधि र पद्दतिलाई बलियो गरी अनुशरण गर्ने र यस सम्बन्धमा देखिएका समस्याहरुलाई उचित विधिबाट समाधान गर्ने ।
१०. पार्टी र पार्टी नेतृत्वका विरुद्ध हुने कुनै पनि कुप्रचार र प्रहारलाई सबै  नेता, कार्यकर्ता र सदस्यहरुले तथ्यपरक किसिले सशक्त रुपमा प्रतिवाद गर्ने ।

प्रतिक्रिया दिनुहोस्