कमल थापाले भने, ‘संशोधनमा आँखा चिम्लेर सहीछाप गर्दैनौं’


भदौ २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत जानुअघि संविधान संशोधनको प्रस्ताव संसद्मा गर्दा गर्ने प्रयास गरिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी एमालेकै जस्तो धारणा राखेका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘हामी आँखा चिम्लेर संविधान संशोधनमा सहीछाप गर्दैनौँ ।’

अध्यक्ष थापाले संविधान संशोधन गर्न दुई तिहाई मत आवश्यक पर्ने भए पनि संविधान संसोधनका बारेमा आफूहरुसँग सरकारले कुनै पहल नगरेको समेत जानकारी दिए । एमाले र राप्रपा नेपाल एक ठाउँमा उभिँदा साना विपक्षमा उभिएका साना दलसहित एक तिहाईभन्दा बढी मत हुन्छ, जसको समर्थनबिना संविधान संशोधन सम्भव छैन ।

२०७४ माघसम्म स्थानीय, राज्य र संसदको निर्वाचन गर्न नसकेमा मुलुक गम्भीर दुर्घटनामा पर्ने उल्लेख गर्दै अध्यक्ष थापाले भने, ‘संविधान जारी भएको आगामी दुई वर्षभित्र सबैतहका चुनाव गरिसक्नुपर्ने संवैधानीक व्यवस्था भएता पनि सो अवधिमा तीनओटा सरकार बन्नु देशकै लागि घातक बन्न सक्छ ।’

छ नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न दैलेख जान थालेका अध्यक्ष थापाले शनिबार विहान सुर्खेतको वीरेन्द्रनगरमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तत्कालका लागि राप्रपासँगको एकीकरणमा पूर्णविराम लागेको बताए ।

राप्रपा नेपालले अहिलेदेखि नै स्थानीय तहको चुनावको तयारी सुरु गरेको जानकारी दिँदै उनले आगामी चुनावमा गठबन्धन निर्माण गरेर जाने समेत बताए पनि कोसँग त्यस्तो गठबन्धन बनाउने भन्नेबारे चाहिँ खुलाएनन् ।

चुनाव हुनेमा चाहिँ शंका

पूर्वउपप्रधान थापाले वर्तमान सरकारले आगामी चैतमा स्थानीय निकायको चुनाव गर्ने भनेर सस्तो नारा मात्रै लगाइरहेको भन्दै चुनाव गराउनेमै गम्भीर आशंका रहेको जनाए । उनले आफू सहभागी सरकारले स्थानीय तहको निर्वाचनका लागि व्यापक तयारी गरिसकेको स्मरण गराउदै उनले मिति तोक्न सरकारलाई सुझाव दिए ।

सरकार परिवर्तन जनताको चाहनामाथि तुषारापात

संविधान जारी भएको एक वर्षको अन्तरालमा सरकार परिवर्ततनको खेलमा राजनीतिक दलहरु लाग्नु दुर्भाग्यपुर्ण भएको भन्दै अध्यक्ष थापाले नयाँ संविधान निर्माण पश्चात देशमा विकास र स्थायित्व कायम भएको हेर्न चाहने जनताको चाहनामाथि यसले तुषारापात गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्