कम्युनिष्ट आन्दोलनको भविष्य उज्जल भएको सन्देश नेपालबाट गयोः प्रचण्ड


काठमाडौ, २१ जेठ । नेकपाका अध्यक्ष प्रचण्डले एमाले–माओवादीको पार्टी एकताले अन्तर्राष्ट्रिय हिसावमै धरापमा परेको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विश्वबाटै हराउन लागेको कम्युनिष्ट आन्दोलनलाई नेपालको पार्टी एकीकरणले नयाँ उर्जा दिएको बताएका हुन । ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन धरापमा परेको अवस्थामा नेपालमा एकीकरण हुँदा फरक तरगं पैदा भएको छ । यसले देशभित्र र बाहिर सबैतिरबाट भिन्न अपेक्षा छन्,’ उनले भने, ‘हाम्रो एकीकरणले कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ भन्ने सन्देश नेपालबाट गएको छ । यसले ठूलो जिम्मेवारी र चुनौती पनि पैदा गरेको छ ।’ उनले राजनीतिक कारणले विकास नरोकिने विश्वास दिलाउँदै भने, ‘राजनीतिक कारणले समृद्धि र विकास भएन भन्ने ठाउँ छैन । त्यसैले हामीलाई ठूलो चुनौतीको भारी छ ।’ उनले भने, ‘एकीकरणलाई राम्रोसँग आत्मसात गर्दा नयाँ युगमा प्रवेश गर्ने ढोका खुलेको छ । त्यसो गर्न नसके निकै ठूलो फ्रस्ट्रेसन आउने खतरा छ ।’ उनले अस्थिरताको अन्त्य भएर स्थायी सरकार नेपालमा पनि चल्न सक्छ भन्ने सन्देश अहिले सबैतिर गएको धारणा राखे । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान संशोधन लगायतका केही सहमति गरेर फोरमलाई पनि सरकारमा ल्याएको बताए । ‘संविधान संशोधन गर्ने सैद्धान्तिक सहमति भएको छ । फोरम पनि सरकारमा आउने लगभग टुंगिएको छ,’ उनले थपे, ‘अब नेकपा र सरकारका विरुद्ध उठ्ने विरोधका आवाज बन्द भएका छन् । सरकारलाई सजिलो भयो ।’ सरकारले ल्याएको बजेट दीर्घकालीन सोचमा आधारित भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्