करेन्ट लागेर एक, खोलामा डुबेर अर्का एक बालकको मृत्यु


१८ असोज । पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । रौटहट जिल्लाको शीतलपुर–८ घर भई कुश्मा नगरपालिका–११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षीय छोरा राजन मुखियाको ज्यान गएको हो । उनको हातमा करेन्ट लागेको थियो । घरमा बिजुलीको तार खेलाउँदा हातमा करेन्ट लागेको र उनकी आमाले छुटाउन गए पनि नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ । तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घर नजिकैको नदीमा नुहाउन गएका बालकको शव मृत अवस्थामा मंगलबार बबई नदीमा फेला परेको प्रहरीले जनाएको छ । मृतक बालकको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्