कर्मचारीतन्त्रको काममा निखार ल्याउनु अहिलेको आवस्यकताः प्रधानमन्त्री


काठमाडौं,११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारसँग जनताले ठुलो अपेक्षा गरेको बताएका छन ।
विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसंग सोमवार बिहान बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न लामो समय नलिने स्पष्ट पारे । “संयुक्त राष्ट्रसंघले राखेको दीगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौं ” प्रधानमन्त्री ओलीले भने “यसका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रको काम गराइ पुरानो शैलीको भएकोले यसमा निखार ल्याउनु पर्ने बताएका छन । प्रधानमन्त्री ओलीको “ठोकेर खिया झार्नु भन्दा लुव्रिकेन्ट हालेर राज्यका संयन्त्रहरुलाई चलायमान बनाइन्छ ।”
प्रधानमन्त्री ओलीले अहिले चर्चामा आएका कानुन र विधयक धर्मशास्त्र नभएकोले कहिंकतै कमजोरी भएका भए आवश्यकता र औचित्यका आधारमा संसोधन हुने बताए ।
प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारको विरुद्धमा रहेकाले भ्रष्टाचार र अनियमितताप्रति कठोर हुने बताए । उनले भने “कसैले भ्रष्टाचार गरेको प्रमाणबाट पुष्टी भयो भने कतैबाट देखें भने कसैको अनुहार हेर्दिन । व्यबहार हेर्छु । नातागोता,आफन्तवाद,कृपावाद,सामिप्यवाद केही चल्नेवाला छैन ।”
प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकोले विमस्टेकलाई प्रभावकारी बनाउनु पर्नेमा उनको जोड छ । “ विमस्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकाण्डी हुदैन । प्रभावकारी हुन्छ ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सम्पादहरुसंग भने “देखेको कुरा लेख्नुहोस,लागेको कुरा लेख्नुहोस तर जनतालाई निराशा नछाओस भन्ने कुरामा सचेत भइदिनुहोस । ”

प्रतिक्रिया दिनुहोस्