कर्मचारी संगठनले ट्रेड युनियनमा नाम पठाउन सकेन, घोषणामा अन्योल


७ असार । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा अत्याधिक बहुमत जितेको नेपाल निजामती कर्मचारी संगठनले निर्धारित समयभित्र निर्वाचन कार्यालयमा पदाधिकारी र सदस्यको नामावली पठाउन नसकेपछि के गर्ने भन्ने अन्योल भएको छ ।

कर्मचारी संगठनले निर्वाचन कार्यालयले दिएको म्यादका आधारमा असार ६ गतेसम्ममा प्रमख निर्वाचन अधिकृतको कार्यालयमा पदाधिकारी र सदस्यको नामावली पठाउनु पर्ने थियो । तर, आन्तरिक विवादका कारण ७ गतेसम्म पनि नामावली पठाउन नसकेपछि प्रमख निर्वाचन अधिकृतको कार्यालयलाई समस्या परेको छ ।

‘उहाँहरु सबैले समयमै नाम पठाएको भए ७ गते नाम घोषणा गर्ने तयारी थियो । त्यो सम्भव भएन ।’

‘हामीले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने अध्यक्षसहितका पदाधिकारी र सदस्यको नाम पठाउन सबै संगठनलाई असार ६ सम्मको म्याद दिएका थियौँ,’ प्रमख निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सन्तोषकुमार गिरीले भने, ‘उहाँहरु सबैले समयमै नाम पठाएको भए ७ गते नाम घोषणा गर्ने तयारी थियो । त्यो सम्भव भएन ।’ प्रवक्ता गिरीले नाम पठाउन नसककेका संगठनले केही समय म्याद थप गर्न आग्रह गर्दै पत्र पठाएको भन्दै केही दिन पर्खन सक्ने संकेत गरे । ‘नियम अनुसार त म्याद थप गर्न मिल्दैन,’ गिरीले भने, ‘तर, उहाँहरुले केही दिन पर्खिन आग्रह नै गरेर पत्र पठाउनु भएको छ । हामी प्रमख निर्वाचन अधिकृत गिताप्रसाद तिमल्सेनासँग सल्लाह गर्छौँ । सायद केही समय थप हुन्छ होला ।’

गिरीले अहिलेसम्म कांग्रेस निकटको निजामती कर्मचारी युनियन संघले मात्र नामावली पठाएको जानकारी दिए । उसले महासचिव र ६ सदस्यको सूची पठाएको उनले जानकारी दिए । यता, नेकपा माओवादी केन्द्र निकटको राष्ट्रिय निजामती कर्मचारी संगठनले पनि अहिलेसम्म नाम पठाउन सकेको छैन ।

तेस्रो बनेको संगठनलाई उपाध्यक्ष दिने भने पनि त्यो पद नदिएर पदाधिकारीमा सचिव मात्र दिने तयारी भएको भन्दै सो संगठन अदालत पुगेको छ ।
संगठनमा अझै लफडा
नेपाल निजामती कर्मचारी संगठनले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी सदस्यको नामावली पठाउन केही दिन लगाउने संकेत देखाएको छ । ‘हामी विधिसम्मत रुपमा निर्णय गर्न थालेका भए आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको नाम अस्ति नै पठाई सक्ने थियौँ,’ संगठनका महासचिव मोहन घिमिरेले भने, ‘सर्वसम्मत रुपमा नाम पठाउने तयारीमा भएकाले केही ढिला भएको हो ।’
केही दिनमै नाम पठाउँने घिमिरेले जानकारी दिए । ‘आन्तरिक समस्या भएको भन्दै हामीले निर्वाचन कार्यालयमा लिखित जानकारी पठाएका छौँ,’ उनले भने, ‘उहाँहरुले केही दिने पर्खिने संकेत गर्नुभएको छ, थप गरेको म्यादमा हामी जसरी पनि नाम पठाउँछौँ ।’ उनले संगठनकै केही जिम्मेवार नेताहरुले लफडा गरेकाले समस्या भएको आरोप लगाए ।
निर्देशिका नै अस्पष्ट
प्रमख निर्वाचन अधिकृतको कार्यालयको निर्देशिका नै अस्पष्ट भएपछि संगठनलाई लापरवाही गर्न सहज भएको छ । प्रमख निर्वाचन अधिकृतको कार्यालयको निर्देशिकाको ६२ नम्वर बुँदामा भनिएको छ– ‘उपनियम ९१०मा निर्वाचन कार्यालयले नामावली माग गरेपछि सम्बन्धित ट्रेड युनियनले आफ्नो समितिका बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर गरी पदाधिकारी र सदस्यको नामावली तोकेको समयमा पठाउनुपर्नेछ ।’ त्यही बुँदाको ४ नं। मा कुनै युनियनले समयमा नाम नपठाए पाएका युनियनको नाम घोषणा गरी बाँकीको खाली राखी नियमअनुसकारको टे«ड युनियनको गठन गर्ने उल्लेख छ । नाम नपठाउने ट्रेड युनियनलाई पछि प्रतिनिधित्व गराउँने वा नगराउने भन्ने निर्देशिकामा उल्लेख छैन । त्यही बुँदालाई टेकेर नाम पठाउन नसकेका ट्रेड युनियनले ‘बार्गेनिङ गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्