कर तिर्न सास्ती खेप्दै सेवाग्राही


धनगढी, २३ फागुन । सुदूरपश्चिमस्थित पाँच जिल्लाका करदाता अहिले पनि कर तिर्न धनगढी आउनुपर्ने बाध्यता छ । कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका करदाता कर तिर्न धनगढी आउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।
धेरै टाढादेखि आए पनि करदाताले सजिलो तरिकाले कर तिर्ने सुविधा अझै पाउन सकेका छैनन् । धनगढीमा रहेको आन्तरिक राजस्व कार्यालयमा कर तिर्न आउने प्रायः करदाताको एउटै गुनासो हुने गर्छ– देशमा जुनसुकै शासन आए पनि कर्मचारीको व्यवहारमा परिवर्तन आएन ।
करदाता मात्रै होइन, लेखापरीक्षकको अनु्भव पनि यस्तै छ । धनगढीका एक लेखापरीक्षकका अनुसार कर तिर्न जाने सेवाग्राहीको गुनासो हुन्छ– कर कार्यालयका कर्मचारीले किन हामीलाई जरिवाना तिर्न आएका अभियुक्त वा अपराधीलाई जस्तो व्यवहार गर्छन् ?
बाख्रापालनसम्बन्धी फर्मको पान नम्बर लिन कर कार्यालय आउनुभएका कैलाली गौरीगङ्गा नगरपालिका–१० का उद्धवसिंह धामीले भन्नुभयो, “कुनै कुरा सोध्यो भने कर्मचारी बोल्दैनन् । कर्मचारीले कुनै उपाय नबताएपछि बाध्य भएर आन्तरिक राजस्व कार्यालयको पर्खालबाहिर रहेका करसम्बन्धी लेखापढी गर्ने व्यक्तिको सहारा लिएर काम गरेँ । ”
आन्तरिक राजस्व कार्यालयमा कर तिर्न वा पान नम्बर लिन वा कुनै पनि कामविशेषले आउने प्रायः सेवाग्राहीको अनुभव यस्तो छ– सेवाग्राहीसँग बोल्नुपर्दा कर्मचारीहरू पैसा पर्छ झैँ गर्छन् । कैलालीको कैलारी गाउँपालिका रतनपुरका रमेश चौधरीले भन्नुभयो, “हामी करदातालाई कर्मचारीले उचित सम्मानसहित सेवा दिनुपर्ने होइन ? हामीले बुझाएको करले राज्य सञ्चालन हुन्छ, तलब सेवासुविधा पाउँछन् । ”

सेवाग्राहीको समय बर्बाद गर्न पाइँदैन
गौरीगङ्गा नगरपालिकाका लक्ष्मीराम आचार्यले आन्तरिक राजस्व कार्यालयले कर लिने तर सेवासुविधा दिन कञ्जुस्याइँ गर्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “अब कर तिर्ने व्यवस्था स्थानीय तहमै हुनुपर्छ । आन्तरिक राजस्व कार्यालय आएर घण्टाँै लाइन लगाएर हामी सेवाग्राहीको समय बर्बाद गराउन पाइँदैन । ” उहाँले स्थानीय तहमै कर तिर्ने व्यवस्था गर्न नसकिए भ्याट, पान, कर चुक्ताका अलगअलग डेस्क बनाएर छिटोछरितो सेवा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
कैलालीको आन्तरिक राजस्व कार्यालयका कर्मचारीका लागि दिउँसो खाजा खाने समय एक घण्टा तोकिएको छ तर कुनै पनि दिन कम्तीमा डेढ घण्टाअघि कोही कार्यालयमा फर्कंदैनन् । “हामी करदाता तीन÷चार दिन खर्च गरेर यहाँ सेवा लिन आउँछौँ तर कर्मचारीले खाजा खाने नाममा घन्टौँ समय बिताउने गरेका छन्”, डोटीको जोरायल गाउँपालिकास्थित शिव सामुदायिक वन समूहका अध्यक्ष गौरीलाल छेडाल भन्नुहुन्छ, “कर्मचारीले करदाता कति टाढाबाट सेवा लिन आएका हुन्, कति सास्ती भोगेका होलान् भन्ने कहिल्यै सोच्दैनन् । ” छेडालले कर बुझाउन आउन तीन दिन समय लागेको बताउनुभयो ।
राजस्व कार्यालयमा प्रायः पुस, चैत र असारमा सेवाग्राहीको ठूलो भीड लाग्ने गर्छ । करसम्बन्धी कुनै सेवा लिन घन्टौँ लाइन लाग्नुपर्ने बाध्यता छ । सेवाग्राहीको गुनासो छ– गर्मी र जाडोयाममा त जसोतसो लाइन लाग्छौँ तर वर्षायाममा ओत लाग्ने ठाउँ नभएकाले भिजेर लाइनमा बस्नुपर्ने बाध्यता छ ।
ठूलो भीड भएर सेवा लिन कठिनाइ हुने भएकै कारण केही सेवाग्राही सजिलो दिन रोजेर सेवा लिन आउने गरेका छन् । गोदावरी नगरपालिकाका भानसिंह ठगुन्नाले थरुहटद्वारा आह्वान गरिएको दुईदिने आमहडतालको अवसर पारेर आफूले छ महिनापछि बुधबार (फागुन २१ गते) कर चुक्ता प्रमाणपत्र लिएको बताउनुभयो । पश्चिम तराईका पाँच जिल्लामा थरुहटले मङ्गलबार र बुधबार हडताल घोषणा गरेको थियो ।
आन्तरिक राजस्व कार्यालय धनगढीमा सेवा लिन आउने प्रायः सेवाग्राहीको अर्को पनि तीतो अनुभव छ । उनीहरूका अनुसार बिचौलियाले चाँडो काम गर्न र कर विवरण मिलाउन कर्मचारीका नाममा सेवाग्राहीसँग रकम लिने गरिरहेका छन् । कार्यालयमा सेवाग्राहीले सेवा लिन आउँदा कार्यालयमा इन्टरनेटको समस्या, खाजाका लागि भन्दै कर्मचारी बढी समय कार्यालयमा नआउने लगायतका कारण सास्ती भोगिरहेका छन् । कहिलेकाहीँ कम्प्युटरमा विवरण इन्ट्री गर्दा कहीँ गलत भइहाल्यो भने सुधार गर्न निकै कठिनाइ भोग्नुपर्छ ।

कर शिक्षा आवश्यक
आन्तरिक राजस्व कार्यालय धनगढीमा सेवा लिन आएका प्रायः सबै सेवाग्राहीले कर शिक्षा आवश्यक रहेको जनाउनुभयो । सधैँ झन्झट बेहोर्नुपर्ने भए पनि आन्तरिक राजस्व कार्यालय धनगढीमा हरेक वर्ष करदाताको सङ्ख्या थपिने गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७६÷०७७ को आठ महिनामा ५० हजार नयाँ करदाता थपिएका छन् । आन्तरिक राजस्व कार्यालय धनगढीका अनुसार गत आर्थिक वर्षमा ८६ हजार ६५५ करदाता रहेकामा चालू आर्थिक वर्षमा करदाताको सङ्ख्या एक लाख ३५ हजार ७९१ पुगेको छ ।

करदाता बढेसँगै राजस्व पनि वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा आन्तरिक राजस्व कार्यालय, धनगढीले तीन अर्ब ७२ करोड छ लाख २७ हजार रुपियाँ राजस्व सङ्कलन गरेकोमा चालू आर्थिक वर्षको माघ महिनासम्म दुई अर्ब ६७ करोड पाँच लाख ७४ हजार रुपियाँ सङ्कलन गरेको जनाएको छ । गत आर्थिक वर्षको माघसम्म एक अर्ब ९९ करोड ७० लाख ३१ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्यसमेत बढाइएको छ ।  सो कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ३८.६५ प्रतिशतले राजस्व सङ्कलनको लक्ष्य
वृद्धि गरेर पाँच अर्ब १५ करोड ८७ लाख ३७ हजार रुपियाँ पु¥याइएको छ ।

नयाँ कर कार्यालय खोलिँदै
आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले सेवाग्राहीलाई भीडभाडले सेवा छिटोछरितो हुन नसकेको स्थितिलाई ध्यानमा राखी अछामको साँफेबगर र डोटीमा कर कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार कैलालीको लम्कीमा पनि आन्तरिक राजस्व कार्यालय खुलिसकेको छ ।
प्रमुख कर अधिकृत श्रेष्ठले विगतको तुलनामा सेवा प्रवाह प्रक्रिया सहज र छिटोछरितो बनाउने प्रबन्ध गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले फाँटफाँटमा फाइल लिएर जानुपथ्र्यो, केही महिनायता फाइल आफैँ घुमेर सेवाग्राही उभिएको ठाउँमा आउँछ । बैङ्क कार्यालय परिसरमै छ । कम्प्युटरमा गलत विवरण इन्ट्री भए एक महिनामै सच्याउनुपर्छ । त्यो प्रक्रिया
कठिन छैन । ”
उहाँले सेवाग्राहीको धेरै भीड हुने असार, पुस र चैतमा बढी कर्मचारी परिचालन गरेर छिटोछरितो सेवा प्रवाहको व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले बोलीवचनका विषयमा सेवाग्राहीबाट गुनासो आएपछि त्यस्ता कर्मचारीलाई बोलाएरै व्यवहार परिवर्तन गर्न लगाएको जनाउनुभयो । कर अधिकृत श्रेष्ठले भन्नुभयो, “हामीले सेवा, सुविधा र व्यवहारमा निकै सुधार ल्याएका छौँ । कतिपयले
पुरानै कुरा सम्झेर टिप्पणी गरिरहनुभएको होला । ”

प्रतिक्रिया दिनुहोस्