कविता सुनाउँदा–सुनाउँदै यसरी बिदा भए नेत्रमणि


७ कार्तिक । शनिबार दिउँसो रत्नराज्य लक्ष्मी क्याम्पसको एउटा कक्षा–कोठामा साहित्य–सन्ध्याका अध्यक्ष राम विनय बेञ्चहरु मिलाउँदै थिए । साहित्य–सन्ध्यको ३ सय ६५ औं शृंखलामा साहित्य रचना वाचन गर्ने र सुन्नेहरुको उपस्थिति बढ्दै थियो । विनयले बेञ्च मिलाइरहेका बेला सन्ध्यामा कविता वाचन गर्न आएका नेत्रमणि आचार्यले भने, ‘तपाईले एक्लै सक्नु हुन्न, खै म पनि सहयोग गर्छु ।’

तर, दुःखद् कुरा । गोरखा घर भई अचेल काठमाडौंको नेपालटारस्थित छोराको घरमा बसिरहेका ८७ वर्षिय आचार्यका निम्ति सन्ध्याको सोही दिनको कार्यक्रम नै जीवनको अन्तिम कार्यक्रम सावित भयो । कविता सुनाउन उत्साहपूर्वक मञ्चमा पुगेका उनी कविताका केही हरफ सुनाउँदा–सुनाउँदै पर्लक्कै ढले, भुइँमा । शान्तपूर्वक उनका कविता सुनिरहेकाहरुबीच होहल्ला मच्चियो । उनको नाडी छामियो । नाडीको गति शिथिल भएको थाहा भएपछि उनलाई हतार–हतार नजिकैको काठमाडौं मोडेल हस्पिटल लगियो । तर, दुर्भाग्य, अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरे ।

सन्ध्याका अध्यक्ष विनय भन्छन्, ‘कविता सुनाउन मञ्चमा आउँदा उहाँ तगडा नै हुनुहुन्थ्यो । उहाँले म अहिले ८७ वर्षको भएँ तर १७ वर्षे जवानजस्तो भएर कविता भन्छु भन्नुभयो ।’ कविता सुनाउनुअघि त्यो दिन वाचन गर्ने कविता आफूले सोही दिन बिहान मात्रै लेखेको र परिमार्जन गर्न बाँकी रहेको पनि उनले बताएका थिए । तर, कविता भन्दाभन्दै घोप्टो परेका उनी सदाका निम्ति आफन्त, शुभेच्छुक र साहित्य अनुरागीहरुका बीचबाट बिदा भए ।

गोरखामै रहेर साहित्य–सिर्जनामा संलग्न आचार्य गएको भदौमा काठमाडौं आउँदा साहित्य–सन्ध्याको वार्षिक उत्सवमा भाग लिन नेपाल प्रज्ञा–प्रतिष्ठान पुगेका थिए । सन्ध्याको वार्षिकोत्सवमा कविता सुनाएका उनले त्यतिबेला अध्यक्ष विनयसामु भनेका थिए, ‘अब म सन्ध्याको हरेक कार्यक्रममा आउँछु ।’ हुन पनि असोजको कार्यक्रममा उनी आएका थिए र कार्तिकको कार्यक्रम पनि नछुटाउने उनको इच्छा थियो । तर, सन्ध्यामा तेस्रो पटकको कविता वाचन नै आचार्यका निम्ति अन्तिम वाचन ठहरियो ।

कविता सुनाउने क्रममा आचार्य दिवंगत भएको कुरा सुनेपछि नेपालटारमा रहेका छोरा र छोरीहरु तुरुन्तै आए । गोरखामा एक जना छोरा रहेका हुँदा उनलाई पनि तत्काल खबर गरिएको विनयले बताए । दिवंगत आचार्यको ९÷१० वटा कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्