कसरी मनाउँदैछन् सांसदहरुले यस पटकको दसैँ ?


२० असोज । अहिले एकातिर संविधान संशोधनको कुरा उठिरहेको छ भने अर्कोतिर संविधान कार्यान्वयनका विषयमा विभिन्न खाले मतभेदहरु देखा परेका छन् । तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रबीचमै संविधान कार्यान्वयनका सन्दर्भमा एक मत हुन नसक्दा संविधान कार्यान्वयन नहुने हो कि भन्ने आशंका उब्जिएको छ ।

यही सेरोफेरोमा सबै नेपालीलाई दसैँले छपक्कै छोएको छ । अधिकांश सांसदहरु दसैँ मान्न जिल्ला र गाउँ फर्किसकेका छन् भने केही फर्किने तयारीमा छन् । सांसदहरुले यस पटकको दसैँ कसरी मनाउने तयारी गरेका छन् त ? पहिलो न्युज डटकमले केही सांसदसँग गरेको कुराकानीः

आनन्दप्रसाद ढुंगाना, सांसद नेपाली कांग्रेस

 

Anand-Prasad-Dhungana-4-e1451825833463दसैँ नेपालीहरुको महान चाड हो । अहिलेको खुला परिवेशमा मात्र होइन, पञ्चायत कालमा जेलमा बसेका बेला पनि हामीले दसैँ मनाएका थियौँ । त्यसैले अहिलेको सहज अवस्थामा दसैँ नमान्ने कुरै भएन । हामीले यतिबेला दसैँलाई भन्दा पनि संविधान कार्यान्वयनलाई बढी महत्व दिएकाले पनि यस पटकको दसैैँलाई संविधान कार्यान्वयनसँग पनि जोड्ने तयारीमा छु ।

दसैंमा घर–परिवारसँग बसेर रमाइलो गर्ने, भेटघाट गर्ने काम त हुन्छ नै । तर, त्योसँगै मैले यस पटकको दसैँलाई संविधान कार्यान्वयन र संविधान संशोधन केका लागि भन्ने सन्दर्भसँग पनि जोड््ने प्रयास गरेको छु । २०७४ माघसम्ममा हामीले संविधान कार्यान्वयन गर्नुपर्ने छ । त्यसका लागि हामीले तीन चरणका निर्वाचन सम्पन्न गर्नुपर्छ । त्यसैले यस पटकको दसैँ परिवार र जनतासँग बिताउने मेरो योजना छ ।

डा.मीनेन्द्र रिजाल, सांसद नेपाली कांग्रेस

 

minendra_rijal-300x0हामी अहिले सरकारमा सहभागी दल र बाहिरका दलसँग पनि संविधान कार्यान्वयनलाई कसरी अन्तिम चरणमा पु¥याउन सकिन्छ भन्नेबारे छलफल गरिरहेका छौँ । आज पनि यही छलफलमा व्यस्त थियौँ । हामीले जसरी पनि ०७४ माघसम्ममा संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ । यसलाई पनि ख्याल गरेर दसैँका बेलामा पनि छलफल र भेटघाटलाई अघि बढाउने तयारीमा छौँ ।

यस पटक म भने करिब १८ वर्षपछि पहिलो पटक परिवारसँग विदेशमा दसैँ मनाउने तयारीमा छु । लामो समय राजनीतिमा सक्रिय भएँ । अहिले केही फुर्सद मिलेकाले यस पटकको दसैँको समय परिवारलाई दिनुपर्नेे भएकाले पनि केही उत्साही भएको छु । म परिवारसहित यस पटकको दसैँ भारतको राजस्थान र गुजरातमा गएर मनाउने तयारीमा छु ।

गोकर्ण विष्ट, सांसद नेकपा एमाले

 

gokarna-bista-274x300एमालेको विभिन्न जनवर्गीय संगठनले दसैँ, तिहार र छठका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममै मेरो धेरै समय व्यतित भएको छ । दसैँमा संविधान कार्यान्वयनका बारेमा राजनीतिक तहमा छलफल गर्ने, समाधानका उपायहरुको खोजी गर्ने लगायतमा समय बिताउने तयारी गरेको छु ।

यस पटक दसैँ मान्न जिल्ला जाने तयारी नभएकाले यस पटकको दसैँ राजधानीमै मान्ने तयारीमा छु । साथीभाइहरुसँग भेटघाट गर्ने, केही रमाइलो गर्नेमा पनि दसैँलाई उपयोग गर्ने तयारीमा छु । यो पटक केही राजनीतिक, साहित्यिक र दर्शनसँग सम्बन्धित पुस्तक अध्ययन गर्ने पनि तयारी गरेको छु ।

यज्ञराज सुनुवार, सांसद नेकपा (एमाले)

 

Yagyaraj-Sunuwarयस पटकको दसैँ जनतासँग मनाउने तयारीमा छु । अहिले म गृह जिल्ला ओखलढुंगामा छु । ओखलढुंगाका विभिन्न ठाउँमा अहिले पनि म विभिन्न कार्यक्रममा सहभागी भइरहेको छु । त्यसैले यस पटकको दसैँ मैले जनताका बीचमा मनाउने तयारी गरेको छु । विकास निर्माण, संविधानको महत्व आदिका बारेमा जनतासँग प्रत्यक्ष छलफल गरेर यस पटकको दसैँ मान्ने तयारीमा छु । त्योसँगै घरपरिवारलाई समय दिने र रमाइलो गर्ने त भइहाल्छ ।

उमेशकुमार यादव, सांसद नेकपा माओवादी केन्द्र

 

umeshम अहिले मेरो गृहजिल्ला सप्तरी छु । म अहिले पनि विभिन्न कार्यक्रममा सहभागी भइरहेको छुु । दसैँ भनेको सबैसँग भेटघाट गर्ने पर्व पनि हो । त्यसैले यस पटकको दसैँमा मैले भेटघाटलाई प्राथमिकता दिने तयारी गरेको छु । सांसदहरु व्यस्त भए भन्ने आरोप पनि लाग्ने गरेको छ । त्यसैले यो पटक चाहिँ उहाँहरुले त्यस्तो नभन्ने गरी जनताको घर–दैलोमा जाने तयारीमा छु ।

हामी अहिले संविधान कार्यान्वयनको चरणमा छौँ । केहीले संविधान नै कार्यान्वयन नहुने हो कि भनी आशंका गरिरहेका बेला म त्यो भ्रम चिर्ने गरी जनतामाझमा जाने तयारीमा छु । साथै, घरपरिवारसँग बस्ने र रमाइलो गर्ने काम पनि हुन्छ यस पटकको दसैंमा ।

प्रतिक्रिया दिनुहोस्