पूर्ण स्वस्थ भएर फर्किएका ओलीले भने, ‘कसैको अर्घेल्याइँ सम्बोधन गर्न संविधान संशोधन हुँदैन’


२० भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कसैको स्वार्थ र अर्घेल्याइँ सम्बोधन गर्नका लागि संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
दस दिने थाईल्याण्ड भ्रमण पूरा गरी आज स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कुनै औचित्य र कारणबिना संविधान संशोधन असम्भव रहेको स्पष्ट पारे । ‘संविधान संशोधन कसैको दबाब र बहकाउमा देशको अहित हुने गरी, लोकतन्त्रलाई अप्ठ्यारो पार्नेेगरी कसैको स्वार्थ र अर्घेल्याइँ सम्बोधनका लागि गरिने विषय होइन ।’ ओलीले भने, ‘संविधान संशोधन लहडबाजी, जिद्दी वा आग्रह पूरा गर्न होइन, देशको आवश्यकता र अग्रगमनका साथै देशको इज्जत र प्रतिष्ठा उठाउनका लागि मात्रै गरिनु पर्छ ।’

सरकारको प्रस्तावपछि मात्रै ठोस धारणा

ओलीले संविधान संशोधनका माग गर्नेहरूले एमालेसँग अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नराखेको र सरकारले पनि कुन–कुन बुँदामा केका लागि संविधान संशोधन गर्ने विषय स्पष्ट रुपमा नराखेकाले एमालेले त्यसबारे औपचारिक धारणा बनाइनसकेको स्पष्ट पारे । ‘जतिबेला विषय आउँछ, त्यसबेला मात्रै ठोस धारणा बनाउँछौं ।’ ओलीले भने । उनले संशोधनका विषयमा अखबारमा आएको हल्लाका पछाडि एमाले नकुद्ने पनि प्रष्ट पारे ।

बजेट आश्रित विधेयकबारे ओलीको प्रश्न

ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न अस्वाभाविक र अप्राकृतिक ढंगले बहुमत पु¥याएर त्यसलाई लज्जास्पद ढंगले दुरुपयोग गर्नेहरुसँग अहिले बजेट आश्रित विधेयक पारित गर्ने नैतिकता नभएको बताए । ‘बहुमतलाई कहिल्यै राष्ट्रिय हित विरुद्ध दुरुपयोग गरिँदैन, तर त्यतिबेला (बजेट आश्रित विधेयक फेल गर्न) अस्वाभाविक र अप्राकृतिक बहुमतको लज्जास्पद ढंगले दुरुपयोग गरियो ।’ ओलीले भने, ‘जसले त्यतिबेला बेठीक भन्दै असफल तुल्यायो, उसैले कुन नैतिकतामा उभिएर फेरि विधेयक पारितको प्रस्ताव ल्याउन सक्छ ?’

सीमांकन पुनरावलोकन मधेसको मुद्दा होइन

एक प्रश्नको उत्तरमा ओलीले प्रदेशको सीमांकन पुनरावलोकन मधेसको मुद्दा नै नभएको ठोकुवा गरे । ‘सीमांकन पुनरावलोकन मधेसको मुद्दा भन्ने प्रश्न नै अनुचित, बेग्लै पूर्वाग्रहबाट प्रेरित छ ।’ ओलीले भने, ‘के प्रदेश सीमा पुनरावलोकन साँच्चै मधेसको मुद्दा हो ?’ अर्को एक प्रसंगमा ओलीले बैंककमा रहँदा आफूविरुद्ध गलत अफवाह फैलाइएको भन्दै रोषसमेत प्रकट गरेका थिए ।

आफू पूर्ण स्वस्थ

थाईल्याण्डमा स्वास्थ्य परीक्षण गराउन गएका ओलीले चिकित्सकहरूले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको जानकारी दिँदै आफू देश, जनता र राष्ट्रिय समृद्धिका मुद्दामा केन्द्रित हुने बताए । ‘स्वास्थ्य अवस्था निकै राम्रो रहेको अनुभूति गरिरहेको छु, चिकित्सकहरुले पनि राम्रो प्रतिवेदन दिएका छन् ।’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्