कस्तो छ साहित्यकारहरुको दसैं योजना ?


२२ असोज । आज फूलपाति । यतिबेला दसैंको रमझममा सबै नेपालीहरु रमाइरहेका छन् । शक्तिपीठहरुमा पूजा–अर्चना, साथीभाइ र आफन्तहरुसित भेटघाटको क्रम सुरु भएको छ आजबाट । केटाकेटीदेखि सबै उमेर समूहका मानिसहरु लिंगे, रोटे पिङहरुमा झुमिरहेका छन् । रमाइलो छ दसैंको वातावरण । तर, साहित्य–सिर्जनामा लाग्ने स्रष्टाहरुले भने दसैंको बिदालाई कसरी उपयोग गर्ने सोचाइ बनाइरहेका छन् ? केही स्रष्टाहरुको दसैं–योजनाः

युवराज नयाँघरे, निबन्धकारyuvraj

मैले यो दसैंमा केही चुनिएका किताबहरु पढ्ने योजना बनाएको छु । त्यसमा हरिहर विरहीको ‘आगो निभेको छैन’, मदन पुरस्कार विजेता रामलाल जोशीको ‘ऐना’ र रेवतिरमण खनालको ‘अनुभव र अनुभूति’ पढ्ने योजनामा छु ।
साथै, दसैंको बिदालाई सदुपयोग गर्दै दुई दिनसम्म कतै घुम्न जाने योजना छ । र, आफ्ना केही निबन्धहरु पनि पुनर्लेखन गर्ने योजना बनाएको छु ।

विप्लव ढकाल, कवि

biplav

म यस पटक धेरै वर्षपछि आफ्नो जन्मघर भोजपुरको याकुमा जाँदैेछु । अहिले यो घर पूरै रित्तो छ । रित्तो घरमा २ रात बिताउने छु । नयाँ विषयमा केही कविता लेख्दै छु र तिनलाई पूरा गर्नेछु ।
गाउँमा जाँदा आफूले गाईबाख्रा चराएको वनमा फकिर जस्तो बनेर घुम्नेछु र पुराना साथीभाइहरूसँग भेटेर आफ्नै अतीतसँग सम्वाद गर्नेछु । यसपालिको मेरो दसंैको योजना यस्तै छ ।

गुरुङ सुशान्त, समीक्षक

susanta

दसैंमा गाउँ जाने योजना छैन । घर नभएकोले अप्ठेरो छ । यतै सहरमा परिवारसँग दसैं मनाउँछु । खासमा यो वर्ष निबन्धको पुस्तक निकाल्ने तयारीमा छु । दसैंको एक महिने बिदामा लेखन, पुनर्लेखन र परिमार्जन गर्नेछु ।
केही पुस्तक र फिल्म किनेर राखेको छु । यही लामो बिदा सदुपयोग गर्ने छु । समय मिलाएर साथीहरुसँग ३÷४ दिने यात्रा गर्ने योजना पनि छ । सकेसम्म भूकम्प प्रभावित जिल्लामा जाने विचारमा छु । यस्तै छ मेरो दसैं र तिहारको योजना ।

अनुपम रोशी, कथाकार

anupam

यसपालिको दसैंमा टीका लगाउन गाउँ जानेछु । त्यो समय नेटुवाको बस्ती हेर्न जान्छु, लुम्बिनीमा । केही अध्ययन पनि गर्दैछु र सम्भवतः लेखिरहेको किताबलाई अन्त्यतिर पुर्याउने छ ।
पढ्ने सूचिमा केही किताब छन् । त्यसमा अजय शर्माको ‘क्रान्ति ठिक विसर्जनवाद बेठिक’ पढ्नेछु ।

प्रतिक्रिया दिनुहोस्