काँग्रेसका यी पाँच नेता, जो विभिन्न काण्डमा मुछिएर ‘चर्चित’ भए


२९ पुस । पछिल्लो समय नेपाली कांग्रेसका केही मन्त्री तथा सांसदहरु उनीहरुले सार्वजानिक रुपमा प्रदर्शन गरेका केही हर्कतका कारण बदनाम भएका छन् । त्यसबाट उनीहरु मात्र बदनाम भएका छैनन्, उनीहरुवाट सिर्जित गलत प्रवृत्तिलाई एउटै टोकरीमा हालेर सबै नेतालाई सामाजिक सञ्जालमार्फत प्रहार पनि गर्न थालिएको छ ।

भूकम्पका कारण देश शोकमा डुबेका बेला पीडितहरुका लागि आएको राहत बेचेर खानेदेखि संसदभित्रै खैनी थुक्नेसम्मका अनैतिक क्रियाकलापका कारण कांग्रेसका मन्त्रीहरु बदनाम बनिरहेका बेला पछिल्लो समय कांग्रेसकै अर्का सांसद घडी काण्डमा मुछिए । ‘अर्जुन छाप खैनी’ भनेर सहरी विकास मन्त्रीसमेत रहेका कांग्रेस नेता अर्जुननरसिंह केसीको समाजिक सञ्जालमा व्यापक विरोध भइरहेकै बेला फेरि ‘घडीवाला सांसद’ भनेर कांग्रेसकै अर्का जल्दाबल्दा नेता तथा सांसद रामहरि खतिवडामाथि प्रहार भइरहेको छ । पछिल्ला यी काण्डले दुई दशकअघिको ‘पर्खाल काण्ड’ पनि सार्वजनिक ठाउँमा हुने अनौपचारिक राजनीतिक बहसको विषय बनेको छ । यी हुन् कांग्रेस नेताले घटाएका चर्चित काण्ड–

बलबहादुर केसी, पर्खाल काण्ड

०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिको चर्चामा पुगेका नेता केसीमाथि लागेको पर्खाल काण्डको कालो दाग अझै हटेको छैन । २०५५ सालतिर खेलकुद मन्त्री भएका बेला उनी पार्टीकै एउटी महिला कार्यकर्ताको कोठामा राति पर्खाल नाघेर गएको समाचार त्यो बेला एक राष्ट्रिय दैनिकले छापेपछि उक्त समाचारले सनसनी मच्चायो । स्थायी घर अर्घाखाँची र माइती धनकुटा भएकी काठमाडौं ज्ञानेश्वरमा बस्ने थापा थरकी अधबैंशे महिलाको कोठामा तत्कालीन मन्त्री केसी पर्खाल चढेर पुगेका थिए । त्यस बेला प्रकाशित समाचारअनुसार, उनीसँग अनुचित सम्बन्धमा रहेकी ती महिलाको डेरामा कांगेसकै अर्का नेता अफताव आलम रहेको कुरा थाहा पाएपछि रिसले मुर्मुरिँदै केसी गाडी लिएर गएका थिए । त्यहाँ पुगेर ढोका ढक्ढक्याउँदा नखोलेपछि उनी पर्खालमा चढेका थिए । नेपालको राजनीतिमा पर्खाल काण्ड अझैसम्म चर्चित छ ।

डा. नारायण खड्का, त्रिपाल काण्ड

०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण झण्डै नौ हजार नेपालीले ज्यान गुमाए । हजारौंको संख्यामा घाइते भए भने लाखौं मानिसहरु घरबारविहीन भए । घरबारविहीन भएकाहरु अझै राहत नपाएर त्रिपालमै बस्न बाध्य छन् । भूकम्पले पुरा देश शोकमा डुबिरहेका बेला घाइतेहरुको उपचार र पीडितहरुको लागि राहत र पुनस्र्थापना गर्ने जिम्मा लिएको तत्कालीन सरकारको सहरी विकास मन्त्री मन्त्री नारायण खड्काले कलंकको टीका लगाउने काम गरे ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले पीडितको लागि खरिद गरिएको त्रिपालमा झण्डै २५ करोड रुपैयाँ झ्वाम पारेको बताइन्छ । सहरी विकास मन्त्रालयले खरिद गरेको पाँच लाख थान त्रिपालमा मन्त्री खड्काले मन्त्रालयका कर्मचारीको मिलेमतोमा २५ करोड झ्वाम पारेका थिए । भण्डारण गरिएका त्रिपाल कम संख्यामा भेटिनु र बिना चेकजाँच पठाउने काम भएपछि व्यापक अनियमितता भएको पत्ता लागेको थियो र त्यसमा मन्त्रालयको संलग्नता खुलेको थियो । सहरी विकास मन्त्रालयको छानबिन टोलीले आफ्नै मन्त्रालयको त्रिपाल खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष समेत निकालेका थियो । मन्त्रीदेखि कर्मचारीसम्मको मिलेमतोमा सस्तो मूल्यमा त्रिपाल गरिद गरेर महँगो बिल बनाइएको थियो भने आपतकालीन अवस्थाको लागि भन्दै बिना टेन्डर त्रिपाल खरिद गरेको थियो ।

त्रिपालमा अनियमितता भएपछि मन्त्रालयस्तरीय निर्णयबाट सहरी विकास मन्त्रालयका सह–सचिव डा. महेन्द्र सुब्बाको संयोजकतत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले अनियमितता गरेको निष्कर्ष निकालेको थियो ।

डा. रामशरण महत, जस्तापाता काण्ड

भूकम्पको बेला राहतका लागि आएको जस्तापाता बेचेका कारण कलंकको टीका लगाउने अर्का कांग्रेस नेता हुन्, डा. रामशरण महत । तत्कालीन अर्थमन्त्री महतकै योजना र संरक्षणमा उनका स्वकीय सचिव रमेश महतले राहतको जस्तापाता बेचेका थिए । एकातिर मन्त्री महतले भूकम्प पीडित परिवारलाई राहतस्वरुप पैसा दिने विषयमा आपत्ति जनाउनु र अर्कातिर उनकै पिएले जस्तापाता बेच्नुले मन्त्री महतको चरित्रलाई उदांगो बनाएको थियो ।

इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कविलासका विभिन्न विद्याययहरुलाई राहतस्वरुप दिएको तीन सय बण्डल जस्तामा घोटाला भएपछि मन्त्री महत विवादमा तानिएका थिए । महतका पीए रमेश महतले राहतका लागि विद्यायललाई दिएको जस्ता बेच्न लैजाँदै गरेको अवस्थामा स्थानीयबासीले फक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । कबिलासका विद्यालय भवन निर्माण गर्नको लागि दिएको जस्तामध्ये महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएर बाँकी २ सय ७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेको घटना देशभरि नै चर्चाको विषय बन्न पुग्यो । जस्ता बेचेको आरोप लागेपछि अर्थ मन्त्रीका पिए महतले पदबाट राजीनामा दिएका थिए ।

अर्जुननरसिंह केसी, खैनी काण्ड

दुई हप्ताअघि संसदमा खैनी थुकेका सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको अहिले व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जाल तथा चोक–चौताराहरुमा उनकै चर्चा छ । स्वास्थ्य मन्त्री गगन थापाका ससुरासमेत रहेका केसीले संसद बैठक बसिरहेका बेला मुखबाट खैनी निकालेर त्यहि मिल्काएको भिडियो नै सार्वजानिक भएपछि उनले माफी माग्दै त्यसको अपत्यारिलो खण्डन पनि गरेका थिए ।

उनले रिपोर्टस क्लबमा पुगेर आफूले गल्ती गरेको त स्वीकारे तर भिडियो खिच्नेप्रति कटाक्ष पनि गरे । उनले आफूले फ्याँकेको चिज सुर्ति नभएर दालचिनी भएको बताए पनि उनको त्यो ढाकछोपलाई कसैले पत्याएनन् । बरु उल्टै सामाजिक सञ्जालमा ‘अर्जुन छाप खैनी’ का नक्कली विज्ञापन हालेर व्यापक प्रचार भइरहेको छ ।

रामहरि खतिवडा, घडी काण्ड

‘बरु मलाई गोली हानेर एकैचोटी मारिदिएको भए हुन्थ्यो तर यो आरोपका कारण मलाई बाँचुन्जेल मार्ने काम भएको छ’ । घडी काण्ड छताछुल्ल भएपछि नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले दिएको अभिव्यक्ति हो यो । काठमाडौंको एउटा होटलस्थित क्लबबाट एक थान महँगो घडी चोरी भएको प्रकरणपछि सांसद खतिवडा यति बद्नाम भएका छन् कि उनको बदनामीको मात्रा कति धेरै छ भन्ने कुरा त्यही अभिव्यक्तिबाट पनि छर्लंग हुन्छ ।

समाचार अनुसार, केही दिनअघि लाजिम्पाटस्थित होटल र्याडिसनको जिमको लकरबाटै एउटा घडी हरायो । बजार मूल्य अन्दाजी १४ लाख रुपियाँ पर्ने उक्त रोलेक्स ब्रान्डको घडी पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका कान्छा छोरा प्रवलमानसिंह गुरुङको थियो । लन्डनको एउटा ख्यातिप्राप्त रियल स्टेट कम्पनीका डाइरेक्टरसमेत रहेका गुरुङले महँगो घडी हराएपछि होटल व्यवस्थापनमार्फत दरबारमार्ग प्रहरी वृत्तमा उजुरी दिए । प्रहरीले अनुसन्धान मार्फत घटना भएको भोलिपल्ट अर्थात् बिहीबार नै उक्त घडी सांसद खतिवडासँग रहेको पत्ता लगायो । तर, खतिवडा हाइप्रोफाइलका मात्र होइन, प्रहरीसँग पनि उत्तिकै राम्रो सम्बन्ध राख्ने व्यक्ति भएका हुनाले प्रहरीले उनीमार्फत घडी हात पार्न नयाँ जुक्ति अपनायो ।

शुक्रबार बेलुकी प्रहरीले ‘हामीले घडी हराउँदा जिमको लकरमा उपस्थित केहीलाई शंकाको घेरामा राखेका छौँ, फिङ्गर प्रिन्ट लिएर अनुसन्धान अगाडि बढाउन सहयोग गरिदिनु प¥यो’ भन्दै सांसद खतिवडालाई फोन गरेपछि शनिबार बिहानै सांसद खतिवडाले दरबारमार्ग प्रहरी वृत्तमा पुगेर घडी बुझाएका थिए । तर, उनले अरु कसैले उक्त घडी आफ्नो गोजीमा राखिदिएको र त्यो कुरा आफूलाई थाहै नभएको बताउँदै आएका छन् । घडी प्रकरण सार्वजानिक भएपछि उनले पत्रकार सम्मेलन गरेर आफूलाई कसैले नियोजित तरिकाले फसाउने प्रयास गरेको बताएका छन् ।

आफूले घडी नचोरेको बताउँदै उनले भनेका थिए, ‘त्यो बिहान म क्लव गएको हुँ । हामी ५÷७ जना थियौं । त्यही दिन बेलुकी म ओखलढुंगा गए । ओखलढुंगा पुगेर कोटमा हात राख्दा एउटा घडी फेला प¥यो । मैले तत्काल क्लवका सुनील शर्मालाई फोन गरेर आफ्नो खल्तीमा एउटा घडी परेको कुरा जानकारी गराएँ । उनले पनि हामीले घडी कता हरायो भनेर खोजिरहेका थियौं, फेला प¥यो भने ।’ घडीका मालिक गुरुंगले पनि बिहीबार एक विज्ञप्ति जारी गरी घडी प्रकरणमा सांसद खतिवडालाई अनावश्यक ढंगले मुछिकोमा आफू दुःखी भएको बताएका छन् । घडी जसले चोरेको भए पनि वा जसले सांसद खतिवडाको खल्तीमा राखिदिएको भए पनि यो प्रकरणपछि सांसद खतिवडा यति धेरै आलोचित छन्, उनलाई चिनिने विम्बको रुपमा ‘घडीवाला सांसद’ प्रयोग गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्