काँग्रेसको अलमलले बढ्यो राजपाको मनोबल


१ असार । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि चुनावी अन्योल झनै बढेको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नौ महिनाअघिको सहमतिलाई पालना गर्दै सहज रुपमा देउवालाई सत्ता सुम्पेपछि स्थानीय तहको दोस्रो चरणका साथै प्रदेश र केन्द्रको निर्वाचन गराउने दायित्व देउवाको काँधमा आएको छ । तर, दोस्रो चरणको निर्वाचन गराउनेमा देउवा आफ्नो प्रतिबद्धताबाट चिप्लिँदै जान थालेपछि असार १४ गते दोस्रो चरणको निर्वाचनप्रति संशय उत्पन्न हुन पुगेको हो ।

दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशमा चुनाव हुने भए पनि तराई–मधेसका केही भूभागमा भने असन्तुष्ट राजपाले अवरोध पु¥याइरहेको छ । पहिलो चरणको निर्वाचनमा सहभागी नभएको राजपालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले अनेक प्रयत्न गरे पनि संविधान संशोधन र मधेसमा स्थानीय तह नबढाएसम्म चुनावमा भाग नलिने अडान राजपाले राखिरहेको छ ।

राजपाले चुनावमा भाग नलिए २ नम्बर प्रदेशका ८ जिल्लाका दक्षिणी क्षेत्रमा सर्वाधिक असर पर्ने देखिन्छ । राजपाले आव्हान गरेको दुई दिने बन्दका क्रममा मधेसका छिटफुट रुपमा घटनाले पनि आगामी असार १४ गतेको निर्वाचनलाई अवरोध पु¥याउने संकेत गरेको छ ।

तर, सबै प्रदेशमा चुनाव हुनुपर्ने अडानमा रहेको एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमलगायत दलले २ नम्बर प्रदेशका उम्मेदवारहरु टुंगो लगाए पनि सत्तारुढ दल नेपाली काँग्रेसले भने सो प्रदेशमा उम्मेदवार चयन नगर्दा काँग्रेस स्वयं निर्वाचन सार्ने पक्षमा रहेको प्रष्ट देखिएको छ । मनोनयन गर्ने अघिल्लो दिनसम्म पनि सो प्रदेशमा काँग्रेसले उम्मेदवार छानेको छैन र २ नम्बर प्रदेशमा अब काँग्रेसले निर्वाचनमा भाग लिने सम्भावना टरेको छ । काँग्रेसले २ नम्बरमा उम्मेदवार चयन नगर्नुमा राजपासँगको आन्तरिक साँठगाँठ भएको अनुमान गर्न थालिएको छ । काँग्रेसले अशान्त बन्दै गएको २ नम्बर प्रदेशमा उम्मेदवार चयन नगर्दा राजपाको आत्मबल बढेको बताइन थालिएको छ । काँग्रेसले अरु प्रदेशका भने उम्मेदवार टुंगो लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्