कांग्रेसका १९ सांसदले संशोधन प्रस्ताव फिर्ता लिएपछि निर्वाचन विधेयक पारित


१९ भदौ । भ्रष्टाचारको सजाय पाएका व्यक्तिलाई ३ वर्षपछि चुनाव लड्न दिनुपर्ने संशोधन प्रस्ताव नेपाली कांग्रेसका १९ जना सांसदहरुले फिर्ता लिएपछि राज्य व्यवस्था समितिको सोमबार बसेको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ ।

नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी, शंकर भण्डारीलगायतका सांसदले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक पास भएको हो । यसअघि नेपाली काँग्रेसका १९ सांसदले भ्रष्टाचारसम्बन्धी अभियोग प्रमाणित भएका व्यक्तिले तीन वर्षपछि चुनाव लड्न चाहेमा उनीहरुको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै राज्य व्यवस्था समितिमा संशोधन विधेयक दर्ता गरेका थिए ।

तर, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने आफ्नै दलका सांसदहरुको संशोधन प्रस्तावप्रति आपत्ति जनाएका थिए । उनले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान पार्टीभित्र राख्दै आएका थिए ।

सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गते गर्ने निर्णय गरिसकेको छ । तर, निर्वाचनसम्बन्धी कानून नभएकाले चुनावको तयारी गर्न समस्या परेको थियो । निर्वाचन आयोगले कानुन ल्याउन ताकेता गर्दै आइरहेको थियो ।

राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले आजै उक्त विधेयक संसद्मा पेश गर्ने भएको छ । आजको बैठकमा गंगालाल तुलाधार, ईश्वरी न्यौपाने, विक्रमबहादुर थापा, आनन्दप्रसाद ढुंगाना, रेखा शर्मा, वामदेव गौतमलगायत सांसदले विधेयक सम्बन्धमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्