कांग्रेसको प्रचार विभाग बैठकमा एमालेको प्रशंसा !


२९ असार । ‘यस्तो गलत कुरा गरेर हुन्छ ? यस्तै कुराले हो– हामीले चुनावमा धोका खाएको । कलैयामा कसरी कांग्रेसले जित्छ ? हुँदाहुँदा शोभाकरजीले निजगढमा पनि एमालेले जित्दैन भन्नुभयो । यो सरासर गलत कुरा हो । त्यहाँ विगतमा पनि एमालेले जितेको छ, अब पनि उसैले जित्छ ।’

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित केन्द्रीय प्रचार विभागको बैठकमा दुई चरणका चुनावमा त नराम्ररी हारियो तेस्रो चरणमा के होला भनेर विभाग प्रमुख रमेश लेखकले जिज्ञासा राख्नासाथ शोभाकर पराजुलीले के बोलिभ्याएका थिए, बैठकमा सहभागीहरुले उनका कुरा पत्याएनन् । बरिष्ठ पत्रकार परशु घिमिरेले भनिहाले, ‘०७० सालको संविधानसभाको निर्वाचनमा मै निजगढ गएको थिएँ । अन्तिमसम्ममा कांग्रेसले जित्छ भन्थे, पछि एमालेका पुरुषोत्तम पौडेलले भारी मतले जिते ।’

रमेश लेखक संयोजक र गगन थापा सहसंयोजक रहेको प्रचार विभागले चुनावमा गरेका कामको समीक्षा गर्न आयोजित बैठकमा सहभागी प्रायः सबैले एमालेले प्रचारका क्षेत्रमा आफ्नोभन्दा राम्रो काम गरेको बताए । पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्यले दिक्दारी व्यक्त गरे, ‘पहिलो पटक कांग्रेसले यति व्यवस्थित प्रचार अभियान चलाएको थियो । तर, जति गरे पनि कम्युनिस्टहरु जति सकिँदोरहेनछ । शेरबहादुरजीले नै भनेर म प्रचार विभागमा बसेको, किन बसेँ हुँला भन्ने लागेको छ ।’

देशभरबाट सूचना संकलन गरेर सम्प्रेषण गर्ने, उम्मेदवारहरुको प्रचारप्रसार गर्ने र पार्टीका पक्षमा माहौल सिर्जना गर्ने जिम्मेवारीसहित कांग्रेसले बनाएको १५ सदस्यीय प्रचार विभागका नाममा के कति खर्चपर्च भयो भन्नेबारेमा पनि बैठकमा कुरा उठेको थियो । भिडियो, म्युजिक भिडियो, फेसबुक प्रचार सामग्री बनाउँदा गरिएको खर्च पारदर्शी नभएको कुरा पनि बैठकमा उठेको एक सदस्यले बताए ।

बैठकमा प्रचार संयोजक रहेका रमेश लेखकको जिल्ला कञ्चनपुरमा मात्रै होइन, उनी बसोबास गर्ने भीमदत्त नगरपालिका र स्वयम् उनको वडामा समेत कांग्रेसले हारेको बारेमा पनि सदस्यहरुबीच चर्चा चलेको थियो । सहसंयोजक गगन थापाले आफ्नै वडामा पार्टीलाई जिताउन नसकेको चर्चा चलेपछि अजयबाबु शिवकोटीले प्रतिरक्षा गरिहाले, ‘शेरबहादुर दाइले पनि त डडेल्धुरामा जिताउन सक्नुभएन ।’

कांग्रेसको प्रचार विभागमा माथि उल्लिखितका अतिरिक्त तारानाथ दाहाल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, किशोर नेपाललगायत सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्